काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीचको खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर जनकपुरलाई पहिले ब्याटिङको निम्तो दिएको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेका हुन् । पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा रहँदा जनकपुर भने दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । पोखराका लागि आजको खेल प्रतियोगिताको दोस्रो खेल हो । यसअघि पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । उता, जनकपुरले यसअघि दुई खेल खेलिसकेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौंलाई ८ विकेटले हराउँदै पहिलो जित निकालेको थियो । एक खेलमा हार र अर्को खेलमा जित निकालेको जनकपुर आज पोखरालाई हराउँदै जितको संख्या दोब्बर बनाउने योजनामा छ । एनपीएलअन्तर्गत आज एक खेल मात्रै हुँदैछ ।


