पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन, ३०० बढी विज्ञ जुट्ने - Chaitanya News
  • 2026-11-01
  • 14:52:24
  • आइतबार,कार्तिक १६, २०८३
  • पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन, ३०० बढी विज्ञ जुट्ने

    पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन, ३०० बढी विज्ञ जुट्ने

    काठमाडौँ– नेपालको साइबर सुरक्षा क्षेत्रमा ज्ञान, अनुभव र प्रविधिको आदानप्रदान गर्ने उद्देश्यसहित पहिलो पटक अन्तर्राष्ट्रियस्तरको साइबर सुरक्षा सम्मेलन ‘बिसाइड्स काठमाडौँ २०२६’ आयोजना हुने भएको छ ।

    नोभेम्बरमा बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा आयोजना हुने सम्मेलनमा साइबर सुरक्षा विज्ञ, इथिकल ह्याकर, अनुसन्धानकर्ता, विद्यार्थी तथा यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार सम्मेलनमा ३०० भन्दा बढी सहभागी जुट्ने अपेक्षा गरिएको छ ।

    सम्मेलनलाई प्राविधिक ज्ञान आदानप्रदान, व्यावहारिक सिकाइ र साइबर सुरक्षाका नयाँ चुनौतीबारे छलफल गर्ने साझा मञ्चका रूपमा विकास गर्न खोजिएको छ । कार्यक्रममा प्राविधिक प्रस्तुति, प्रयोगात्मक सिकाइ, ह्याकिङ प्रतिस्पर्धा, ओपन सोर्स परियोजनाको प्रदर्शनी तथा साइबर सुरक्षा क्षेत्रमा कार्यरत विज्ञहरूसँग अन्तरक्रिया गरिनेछ ।

    कार्यक्रममा माइन्डपुल टेक्नोलोजिजका अफेन्सिभ सेक्युरिटी लिड आशिष धोनेले समेत प्रस्तुति दिनेछन् । बैङ्किङ, दूरसञ्चार तथा व्यावसायिक प्रविधि प्रणालीमा रेड टिमिङको क्षेत्रमा उनीसँग करिब एक दशकको अनुभव रहेको छ ।

    सम्मेलनमा सहभागी हुन विद्यार्थी, जनरल र कर्पोरेट प्लस आफ्टर पार्टी गरी तीन प्रकारका टिकटको व्यवस्था गरिएको छ । नोभेम्बर ४ सम्म उपलब्ध हुने अर्ली बर्ड टिकटअन्तर्गत विद्यार्थीका लागि १ हजार ९०० रुपैयाँ, जनरलका लागि २ हजार ४०० रुपैयाँ र कर्पोरेट प्लस आफ्टर पार्टी पासका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । नोभेम्बर ५ देखि नियमित र नोभेम्बर १६ देखि लेट बर्ड टिकटको मूल्य लागू हुनेछ ।

    आयोजकका अनुसार टिकट बिक्री तथा प्रायोजनबाट प्राप्त रकम सम्मेलनको आयोजना र व्यवस्थापनमा खर्च गरिनेछ ।

    अमेरिकाको लस भेगासबाट सन् २००९ मा सुरु भएको बिसाइड्स साइबर सुरक्षा समुदायलाई एकै ठाउँमा जोड्ने अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा परिचित छ । यसको काठमाडौँ संस्करणले नेपालमा साइबर सुरक्षा सम्बन्धी ज्ञान, सीप र अनुसन्धानको विकास तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।