काठमाडौं– जर्मनीमा युवा पुस्ता (जेनजी) को नेतृत्वमा भइरहेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि देशका प्रमुख शहरहरू तनावग्रस्त बनेका छन्। शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन्। बर्लिन, कोलोन र ह्यामबर्गलगायत शहरमा पनि हिंसात्मक गतिविधि भएका छन्।
बीबीसीका अनुसार, सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शन रात पर्दै जाँदा उग्र बनेको थियो। प्रदर्शनकारीहरूले प्रहरी तथा आपतकालीन सेवाका कर्मचारीमाथि पटाका, ढुङ्गा र बोतल प्रहार गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो।
जर्मनीको आर्थिक केन्द्र मानिने फ्र्याङ्कफर्टमा प्रहरीले मुख्य सपिङ सडकको ठूलो क्षेत्र बन्द गरेको थियो। प्रदर्शनका क्रममा कैयौँ व्यक्ति पक्राउ परेको प्रहरी प्रवक्ताले बताएका छन्।
फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा करिब १८ हजार मानिस सहभागी भएका थिए। यद्यपि, आयोजकहरूले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको अनुमानभन्दा यो संख्या झन्डै आधा हो।
‘जेनजी रेगेल्ट’ अर्थात् ‘अब जेनजीले जिम्मेवारी सम्हाल्छ’ भन्ने अभियानको ब्यानरमा हजारौँ युवा सडकमा उत्रिएका थिए। उनीहरूले विद्यालयमा बजेट कटौती, बढ्दो महँगी, सरकारी खर्चमा कटौती तथा अनिवार्य सैन्य सेवाको व्यवस्थाविरुद्ध आवाज उठाएका थिए।
अभियानकी प्रवक्ता लीना फ्रेडरिकले आन्दोलनको मुख्य उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा उभिनु रहेको बताएकी छन्। उनका अनुसार स्वास्थ्य र शिक्षा प्रणालीमा राज्यको सहयोग बढाउनुपर्ने तथा अनिवार्य सैन्य सेवाको बोझ न्यायपूर्ण रूपमा बाँडिनुपर्ने माग युवाहरूको छ।
जर्मनीमा भइरहेको यो प्रदर्शन फ्रान्समा युवा नेतृत्वमा भएका विरोध कार्यक्रमपछि देखिएको हो। फ्रान्समा पनि शनिबार तीन लाख २० हजारभन्दा बढी मानिस सडकमा उत्रिएका थिए।
यसअघि जर्मनीमा महँगी र जीवनयापनको बढ्दो लागतविरुद्ध भएका प्रदर्शनहरू अधिकांश शान्तिपूर्ण थिए। तर पछिल्लो प्रदर्शनमा रात परेसँगै तोडफोड, लुटपाट र प्रहरीसँगको झडप देखिएको छ। यसले युवा असन्तुष्टिको आन्दोलन सुरक्षा चुनौतीमा समेत परिणत हुँदै गएको संकेत गरेको छ।