बस्तीमा हात्तीको जोखिम घटाउन शुक्लाफाँटामा रेडियो कलर जडान गरिने - Chaitanya News
  • 2026-11-02
  • 14:00:00
  • सोमबार,कार्तिक १७, २०८३
  • बस्तीमा हात्तीको जोखिम घटाउन शुक्लाफाँटामा रेडियो कलर जडान गरिने

    बस्तीमा हात्तीको जोखिम घटाउन शुक्लाफाँटामा रेडियो कलर जडान गरिने

    काठमाडौँ– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जंगली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न हात्तीको आवागमन निगरानी गरिने भएको छ। लामो समयदेखि बस्तीमा प्रवेश गरी मानवीय तथा भौतिक क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको गतिविधि पहिचान गर्न रेडियो कलर जडान प्रक्रिया अघि बढाइएको हो।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको काम अगाडि बढाउन निर्देशन दिएको छ। हात्तीको आवतजावतसम्बन्धी वास्तविक तथ्यांक संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको विभागले जनाएको छ।

    रेडियो कलर जडानपछि हात्ती कुन क्षेत्रमा छन्, कता गइरहेका छन् र बस्तीमा प्रवेश गर्ने सम्भावना कति छ भन्ने विषयमा निगरानी गर्न सहज हुनेछ। प्राप्त तथ्यांकको नियमित अनुगमन र विश्लेषणमार्फत सम्भावित जोखिमको पूर्वानुमान गरी स्थानीय बासिन्दालाई समयमै सचेत गराउन सकिने अपेक्षा गरिएको छ।

    कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त सूचनाले हात्तीको आवागमन पहिचान गर्न र सम्भावित जोखिमबारे पूर्वजानकारी दिन सहयोग पुग्ने बताइन्। यसबाट हात्तीका कारण हुने मानवीय क्षति, बालीनालीको नोक्सानी तथा भौतिक सम्पत्तिमा हुने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

    रेडियो कलर जडानको काम निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा हुनेछ। पशु चिकित्सकसहितको प्राविधिक टोलीको समन्वयमा वैज्ञानिक विधि अपनाएर हात्तीलाई रेडियो कलर लगाइने मन्त्री चौधरीले जानकारी दिइन्।

    उनका अनुसार हात्तीको सुरक्षालाई प्राथमिकतामा राखेर रेडियो कलर जडान गरिनेछ भने जडानपछि प्राप्त हुने तथ्यांकको नियमित अनुगमनसमेत गरिनेछ।

    हात्तीको गतिविधिबारे समयमै सूचना प्राप्त हुने व्यवस्था भएपछि शुक्लाफाँटा आसपासका बस्तीमा मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा स्थानीय समुदायको सुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।