स्थानीय चुनावको तयारीमा रास्वपा, उम्मेदवार छान्न सात उपसमिति सक्रिय - Chaitanya News
  • 2026-11-02
  • 12:47:19
  • सोमबार,कार्तिक १७, २०८३
  • स्थानीय चुनावको तयारीमा रास्वपा, उम्मेदवार छान्न सात उपसमिति सक्रिय

    स्थानीय चुनावको तयारीमा रास्वपा, उम्मेदवार छान्न सात उपसमिति सक्रिय

    काठमाडौं–  आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन सातवटा उपसमिति गठन गरेको छ । पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदनसमेत खुला गरेको छ ।

    उम्मेदवार छनोटलाई व्यवस्थित, समावेशी र प्रभावकारी बनाउने उद्देश्यले पार्टीले विभिन्न जिम्मेवारीसहित उपसमितिहरू गठन गरेको हो । उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि गठित समितिको बैठकले सातवटा विषयगत उपसमिति निर्माण गर्ने निर्णय गरेको हो ।

    पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    निर्णयअनुसार क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक र गुनासो समन्वय उपसमितिको संयोजकमा जनकसिंह धामीलाई जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई तोकिएको छ ।

    पार्टीले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ ।

    सातवटा उपसमिति गठनसँगै रास्वपाले स्थानीय तह निर्वाचनका लागि संगठनात्मक तथा उम्मेदवार छनोटसम्बन्धी तयारीलाई अघि बढाएको देखिएको छ । उम्मेदवारको आवेदन संकलनदेखि क्षमता विकास, समावेशिता, प्रविधि, व्यवस्थापन र प्रचारप्रसारसम्मका कामलाई छुट्टाछुट्टै जिम्मेवारी दिएर पार्टीले छनोट प्रक्रियालाई संस्थागत बनाउन खोजेको छ ।

    यसले महानगर र उपमहानगरका वडा तहमा पार्टीका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिन चाहने नयाँ तथा इच्छुक व्यक्तिका लागि उम्मेदवारीको बाटोसमेत खुला गरेको छ ।