काठमाडौँ– पोखरा आउने पर्यटकलाई फेवाताल र आसपासका सीमित गन्तव्यमा मात्रै केन्द्रित नराखी सहरका सबै तालसम्म पुर्याउने लक्ष्यसहित पोखरा महानगरपालिकाले एकीकृत पर्यटन पूर्वाधार निर्माणको योजना अघि बढाएको छ । महानगरले पोखराका नौवटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्न १ अर्ब ५२ करोड रुपैयाँ लागतको आयोजना अगाडि बढाउन लागेको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार वडा नम्बर ६ स्थित फेवाताल क्षेत्रबाट सुरु हुने ट्रेलले पोखराका नौवटै ताललाई एउटै सञ्जालमा जोड्नेछ । साइकल लेनसहित निर्माण हुने यस पूर्वाधारले पर्यटकलाई साइकल तथा अन्य सवारीसाधनमार्फत विभिन्न तालसम्म पुग्न सहज बनाउनेछ ।
महानगरको यो योजनाको मुख्य उद्देश्य पोखराको पर्यटनलाई फेवातालमा मात्रै निर्भर नराखी अन्य ताल तथा ओझेलमा परेका पर्यटकीय क्षेत्रसम्म विस्तार गर्नु हो । आयोजना सम्पन्न भएपछि पर्यटकको पोखरा बसाइ कम्तीमा दुई दिन लम्ब्याउन सकिने महानगरको अपेक्षा छ ।
अहिले पोखरा आउने अधिकांश पर्यटकको आकर्षण केही सीमित पर्यटकीय गन्तव्यमा केन्द्रित हुँदै आएको छ । नौवटै ताललाई एउटै पर्यटन सञ्जालमा जोड्ने योजना कार्यान्वयन भएमा ताल आसपासका बस्ती, व्यवसाय र पर्यटकीय गतिविधिमा समेत नयाँ चहलपहल बढ्ने विश्वास गरिएको छ ।
महानगर प्रमुख आचार्यले पोखराको प्राकृतिक सम्पदा, संस्कृति र साहसिक पर्यटनलाई एकीकृत ढंगले विकास गर्ने उद्देश्यले आयोजना अघि बढाइएको बताए । उनका अनुसार पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपछि त्यसअनुरूपका पूर्वाधार विकासलाई महानगरले प्राथमिकतामा राखेको छ ।
‘पोखरा नेचर, कल्चर र एडभेन्चरको शहर हो । यही विशेषताका कारण पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हौँ । पोखरामा रहेका नौवटै ताललाई साइकल ट्रेल र सडक सञ्जालमार्फत जोड्ने यो योजना दिगो पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुनेछ,’ उनले भने ।
आचार्यले महानगर प्रमुखमा निर्वाचित हुनुअघि नै पोखराका सबै ताललाई साइकल तथा अन्य सवारीसाधनमार्फत जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यकालको अन्तिम चरणमा उक्त प्रतिबद्धताअनुसारको गौरवको आयोजना कार्यान्वयनको दिशामा अघि बढ्न लागेकामा उनले खुसी व्यक्त गरे ।
उनका अनुसार आफू निर्वाचित भएर आएपछि पोखरामा ३३ अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजना अघि बढिरहेका छन् ।
१ अर्ब ५२ करोड रुपैयाँको यो आयोजना केवल तालसम्म पुग्ने सडक र साइकल लेन निर्माणमा मात्रै सीमित नरहने महानगरको अपेक्षा छ । यसले ताल आसपासका स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा आधारित उद्यमलाई विस्तार गर्ने अवसरसमेत सिर्जना गर्नेछ ।
पोखराका नौवटै ताललाई एउटै सञ्जालमा जोड्ने योजना सफल भएमा पर्यटकको बसाइ अवधि बढाउनुका साथै पर्यटनको लाभ सहरका विभिन्न क्षेत्र र स्थानीय समुदायसम्म पुर्याउन सकिने अपेक्षा गरिएको छ । यसबाट पोखराको पर्यटनलाई थप विविधीकरण गर्दै दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास महानगरले लिएको छ ।