आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ? - Chaitanya News
  • 2026-11-01
  • 09:43:10
  • आइतबार,कार्तिक १६, २०८३
  • आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    काठमाडौँ– नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गर्दै दस्तुर उठाउन सुरु गर्न लागेको हो।

    आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गरेबापत काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारीसाधनबाट छुट्टाछुट्टै दरमा शुल्क लिने जनाएको छ।

    सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क उठाउन लागिएको हो।

    निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

    त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

    बस तथा ट्रकका हकमा काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।

    सबैभन्दा बढी शुल्क मल्टी एक्सल ट्रक तथा भारी उपकरणले तिर्नुपर्नेछ। यस्ता सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर बुझाउनुपर्ने आयोजनाले जनाएको छ।

    सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरिएकाले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने चालक तथा यातायात व्यवसायीले अब यात्राको दिशाअनुसार निर्धारित दस्तुर तिर्नुपर्नेछ।