धनगढीः सुदूरपश्चिम प्रदेशमा नयाँ उद्यम स्थापना तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले कैलाली बहुमुखी क्याम्पसमा तीनदिने ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ आयोजना भइरहेको छ।
‘स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म’ भन्ने नारासहित सञ्चालन भइरहेको सम्मेलनमा युवालाई व्यवसाय स्थापना, सञ्चालन, लगानी व्यवस्थापन, बैंकबाट ऋण लिने प्रक्रिया तथा ब्याजसम्बन्धी विषयमा व्यावहारिक ज्ञान प्रदान गरिँदै छ।
सम्मेलनमा सहभागी सयौँ युवामध्ये ७० जना नवउद्यमी छनोट गरिने आयोजकले जनाएको छ। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसको इन्क्युबेसन सेन्टरले आयोजना गरेको सम्मेलनबाट क्याम्पसमा अध्ययनरत ३५ जना र अन्य क्षेत्रका ३५ जना गरी ७० जना छनोट गरिनेछ। छनोटमा परेका नवउद्यमीलाई विषयविज्ञमार्फत थप ९० दिनसम्म विशेष प्रशिक्षण प्रदान गरिनेछ।
विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका तथा अध्ययन पूरा गरेका युवालाई लक्षित गरी सम्मेलन आयोजना गरिएको आयोजक समितिका सदस्य धर्मराज जोशीले बताए।
‘युवालाई व्यवसायमा कसरी जोड्न सकिन्छ भनेर सिकाइरहेका छौँ,’ जोशीले भने, ‘पहिलो दिन व्यावसायिक प्रस्तुतीकरणसम्बन्धी प्रशिक्षण दिइएको थियो। दोस्रो र तेस्रो दिन सहभागीलाई आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्न लगाइएको छ।’
सम्मेलनमा कम्पनी दर्ता नगरेका वा विस्तृत व्यावसायिक प्रस्ताव तयार नपारेका युवाले समेत आफ्नो सीप, सोच र स्थानीय सम्भावनाका आधारमा सहभागिता जनाउने अवसर पाएका छन्। यसले युवाका नयाँ सोच र व्यावसायिक अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुग्ने आयोजकको विश्वास छ।
सम्मेलनमा सहभागी राजन भट्टले कार्यक्रमले व्यवसाय सुरु गर्ने तरिका सिक्नुका साथै आफ्ना योजना प्रस्तुत गर्ने अवसर दिएको बताए।
‘अवसर नपाएर भौँतारिरहेका युवाका लागि यो निकै लाभदायक कार्यक्रम हो। यसबाट व्यवसाय कसरी सुरु गर्ने भन्नेबारे नयाँ सोच र ज्ञान हासिल गर्न पाइयो,’ उनले भने।
राष्ट्रिय योजना आयोग र सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा स्थानीय तह, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र अन्य साझेदार संस्थाको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनमा नवउद्यम प्रशिक्षण शिविर, नमुना प्रस्तुतीकरण दिवस, लगानीकर्तासमक्ष व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर तथा वित्तीय पहुँचसम्बन्धी कार्यक्रमसमेत समावेश गरिएका छन्।
स्थानीय स्रोतसाधन, सीप र प्रविधिको उपयोग गरी नयाँ उद्यम स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने तथा प्रदेशको आर्थिक विकासमा योगदान पुर्याउने सम्मेलनको मुख्य लक्ष्य रहेको छ।
युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई आफैँ उद्यम स्थापना गरेर अरूलाई समेत रोजगारी दिने उद्यमीका रूपमा विकास गर्न सम्मेलनले प्रेरित गर्ने अपेक्षा गरिएको छ।