धनगढीः सुदूरपश्चिम प्रदेशमा विद्युत् तथा सञ्चार सेवासम्बन्धी समस्या तत्काल समाधान गरी गुणस्तर सुधार र पहुँच विस्तारका योजना अघि बढाउन मुख्यमन्त्री खगराज भट्टले निर्देशन दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार संस्थान र एनसेलका प्रदेश तथा क्षेत्रीय कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री भट्टले नागरिकका गुनासा सम्बोधन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।
विद्युत् सेवामा ट्रान्सफर्मरको अभाव, कम भोल्टेजका कारण बत्ती मधुरो हुने तथा दुर्गम क्षेत्रमा विद्युत् लाइन विस्तार हुन नसकेको गुनासो आइरहेको उल्लेख गर्दै उनले यस्ता समस्या तत्काल समाधान गर्न निर्देशन दिए ।
त्यस्तै, सञ्चार सेवातर्फ अप्टिकल फाइबर विस्तार, सेवाको गुणस्तर सुधार र दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन् । सञ्चार सुविधा नपुगेका क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक योजना बनाउन पनि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
नागरिकले सहज र गुणस्तरीय विद्युत् तथा सञ्चार सेवा प्राप्त गर्ने वातावरण बनाउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताए ।
उनले सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्नुका साथै आगामी दिनमा सेवा विस्तारका योजनासमेत तत्काल कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।