त्रिविविले ७७५ शिक्षक तथा कर्मचारीलाई तालिम दिने, १ करोड २५ लाख बजेट विनियोजन - Chaitanya News
  • 2026-10-31
  • 12:19:43
  • शनिबार,कार्तिक १५, २०८३
  • त्रिविविले ७७५ शिक्षक तथा कर्मचारीलाई तालिम दिने, १ करोड २५ लाख बजेट विनियोजन

    त्रिविविले ७७५ शिक्षक तथा कर्मचारीलाई तालिम दिने, १ करोड २५ लाख बजेट विनियोजन

    काठमाडौँः त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि र जनशक्ति विकासका लागि एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

    उक्त बजेटबाट विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन र सेवा प्रवेश तालिम प्रदान गरिने भएको छ।

    त्रिविवि समन्वय महाशाखाले शुक्रबार आयोजना गरेको जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले नौ वटा शीर्षकमा तालिम सञ्चालन गर्ने कार्यक्रम तथा बजेट पारित गरेको हो।

    विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. अञ्जना सिंहको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालय सेवामा नयाँ प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई सङ्गठनात्मक संरचना, कार्यप्रणाली, आचारसंहिता, अधिकार र कर्तव्यबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ।

    त्यसैगरी, प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिनेछ। नेतृत्व तहका पदाधिकारी, क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने कार्यक्रम पनि स्वीकृत गरिएको छ।

    विश्वविद्यालयले कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने तालिमसमेत सञ्चालन गर्ने जनाएको छ।