काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अप्रत्यक्ष प्रभावले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानैदेखि परेको निरन्तर वर्षाका कारण उपत्यकाका मुख्य सडकदेखि बजार क्षेत्रसम्म जलमग्न भएका छन् ।
दिनभरजसो वर्षा हुँदा सडकमा पानी जमेको छ भने पैदलयात्रु र सवारीसाधन चालकलाई आवतजावतमा कठिनाइ भएको छ । दैनिक कामकाजका लागि घरबाहिर निस्किएका सर्वसाधारणसमेत वर्षाका कारण प्रभावित भएका छन् ।
बिहानैदेखि आकाशमा बादल लागेसँगै सुरु भएको वर्षा दिनभर रोकिँदै र पर्दै गरेको थियो । निरन्तरको वर्षाले मुख्य सडक तथा भित्री सडकमा पानी जम्दा सवारीसाधनको आवागमनसमेत प्रभावित भएको छ ।
चक्रवातको अप्रत्यक्ष प्रभावका कारण देशका विभिन्न स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ । मौसममा आएको परिवर्तनसँगै उपत्यकामा चिसोसमेत बढेको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलानालाको जलस्तर बढ्न सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । आवश्यक कामबाहेक जोखिमपूर्ण स्थानमा नजान र सम्भावित विपद्बाट जोगिन सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिइएको छ ।