फुटबल र क्रिकेटसहित खेलकुदका गतिविधि विस्तार गर्न सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स स्थापना - Chaitanya News
  • 2026-11-01
  • 14:39:15
  • आइतबार,कार्तिक १६, २०८३
  • फुटबल र क्रिकेटसहित खेलकुदका गतिविधि विस्तार गर्न सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स स्थापना

    फुटबल र क्रिकेटसहित खेलकुदका गतिविधि विस्तार गर्न सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स स्थापना

    धनगढीः फुटबल र क्रिकेटसँगै अन्य खेलकुद तथा सामाजिक गतिविधिलाई अगाडि बढाउने उद्देश्यले सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स स्थापना गरिएको छ। यसका लागि धनगढी एफसी र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिबीच सहकार्य भएको हो।

    शुक्रबार स्थापना गरिएको नयाँ कम्पनीमा दुवै पक्षको समान लगानी रहनेछ। धनगढी एफसीका सुवास शाही र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिको समान साझेदारीमा कम्पनी स्थापना गरिएको हो।

    सम्झौताअनुसार सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्सको अध्यक्षमा उपेन्द्र महतो रहनेछन्। सुवास शाही सञ्चालक तथा अनुभव स्वाँर सिरोहिया कार्यकारी निर्देशकको जिम्मेवारीमा रहनेछन्। कम्पनीको सञ्चालक समितिमा पछि थप सदस्यसमेत नियुक्त गरिने जनाइएको छ।

    धनगढी एफसी स्थापना भएको ६ वर्ष भइसकेको छ। क्लबले नेपाल सुपर लिग (एनएसएल) मा सहभागिता जनाउँदै आएको छ। एनएसएलका सुरुआती दुई संस्करणमा फाइनलसम्म पुगेको धनगढी एफसी तेस्रो संस्करणमा भने प्लेअफसम्म पुगेको थियो। फुटबलसँगै क्लब विभिन्न सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आएको छ।

    त्यस्तै, काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिअन्तर्गतको काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा फ्रेन्चाइज टोलीका रूपमा सहभागिता जनाउँदै आएको छ। प्रतियोगिताको दोस्रो संस्करणमा काठमान्डु गोर्खाज प्लेअफसम्म पुग्न सफल भएको थियो।

    फुटबल र क्रिकेटमा अनुभव हासिल गरेका दुई संस्थाबीचको यो सहकार्यले सुदूरपश्चिममा खेलकुदका गतिविधि विस्तार गर्नुका साथै अन्य खेल तथा सामाजिक क्षेत्रमा समेत नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।