काठमाडौं– जाडोयाम सुरु भएसँगै सरकारले सरकारी कार्यालयको दैनिक कार्यसमय घटाएको छ। भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजे खुल्ने र दिउँसो ४ बजे बन्द हुने भएका छन्।
गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार नयाँ समयतालिका कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म लागू हुनेछ।
नयाँ व्यवस्थाअनुसार सरकारी कार्यालय तथा सार्वजनिक निकायको सेवा प्रवाह बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। यसअघि सरकारी कार्यालयको समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कायम थियो।
जाडोयाममा दिन छोटो हुने भएकाले सरकारले मौसमअनुसार सरकारी कार्यालयको समय परिवर्तन गरेको हो। यो व्यवस्था शैक्षिक संस्थामा भने लागू हुने छैन।