विश्वविद्यालयलाई नवप्रवर्तन र उद्यमशीलताको केन्द्र बनाउन विज्ञहरूको जोड - Chaitanya News
  • 2026-11-01
  • 14:38:18
  • आइतबार,कार्तिक १६, २०८३
  • विश्वविद्यालयलाई नवप्रवर्तन र उद्यमशीलताको केन्द्र बनाउन विज्ञहरूको जोड

    विश्वविद्यालयलाई नवप्रवर्तन र उद्यमशीलताको केन्द्र बनाउन विज्ञहरूको जोड

    धनगढीः सूचना प्रविधिले सिर्जना गरेका अवसर उपयोग गर्न नेपालका विश्वविद्यालयले समयानुकूल सीप, सिर्जनात्मक सोच, अनुसन्धान क्षमता र समस्या समाधान गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

    कैलालीको धनगढीमा जारी ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन, २०८३’ मा सहभागी वक्ताहरूले विश्वविद्यालय शैक्षिक प्रमाणपत्र प्रदान गर्ने संस्थामा मात्र सीमित नभई स्थानीय समस्या पहिचान, समाधानका उपाय खोजी, नयाँ प्रविधिको विकास र उद्यमशीलता प्रवर्द्धन गर्ने केन्द्रका रूपमा स्थापित हुनुपर्ने बताएका हुन्।

    सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसको उद्यमशीलता प्रवर्द्धन केन्द्र (इन्क्युबेसन सेन्टर) को आयोजनामा कात्तिक १३ गतेदेखि सुरु भएको तीनदिने सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, जलवायु परिवर्तन र ज्ञानमा आधारित अर्थतन्त्रले शिक्षा, रोजगारी तथा उत्पादन प्रणालीमा तीव्र परिवर्तन ल्याइरहेको सन्दर्भमा विश्वविद्यालयको भूमिका र जिम्मेवारी पनि बदलिँदै गएको वक्ताहरूको भनाइ थियो।

    विज्ञहरूले सन् २०३० सम्म विश्वका ४० प्रतिशत रोजगारी स्वचालित प्रणालीबाट प्रभावित हुन सक्ने र सोही अवधिमा विश्व श्रम बजारमा एक अर्ब जेनजी युवा प्रवेश गर्ने अनुमान प्रस्तुत गर्दै त्यसअनुसार विश्वविद्यालयले आफूलाई रूपान्तरण गर्नुपर्ने बताए। विद्यार्थीलाई परम्परागत पाठ्यक्रम र परीक्षामा मात्र सीमित नराखी प्रविधिको प्रयोग, नयाँ विचारको विकास, उद्यमशील सोच र बदलिँदो श्रम बजारको आवश्यकताअनुसार तयार गर्नुपर्ने उनीहरूको जोड थियो।

    ‘विश्वविद्यालयले अहिले नै नवप्रवर्तनको नेतृत्व किन गर्नुपर्छ?’ विषयमा धारणा राख्दै राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झाले विश्वविद्यालयको परम्परागत भूमिकामा परिवर्तन आवश्यक रहेको बताए। त्यसका लागि पाठ्यक्रम, शिक्षण पद्धति र अनुसन्धानका प्राथमिकता परिवर्तन गरी विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप, प्रविधिको प्रयोग र स्थानीय समस्या समाधान गर्ने अवसर दिनुपर्ने उनको भनाइ थियो।

    प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सुदूरपश्चिममा माध्यमिक शिक्षा पूरा गर्ने विद्यार्थीको अनुपात र उच्च शिक्षामा विद्यार्थीको निरन्तरतासम्बन्धी समस्या विश्लेषण गरी समाधान खोज्नुपर्ने बताए। उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेशका करिब ४९ प्रतिशत विद्यार्थी ननग्रेडेड हुने गरेको र तीमध्ये ७७ प्रतिशत गणित विषयमा रहेको उल्लेख गरे।

    ‘शैक्षिक गुणस्तरमा कमी, गरिबी, भौगोलिक विकटता र रोजगारीका सीमित अवसरका बीच मानव विकास सूचकाङ्कमा पनि हामी पछाडि छौँ। त्यसैले यी समस्या समाधान गर्दै सिकेको ज्ञानलाई प्रदेशको उत्पादन, रोजगारी, उद्यमशीलता र सामाजिक रूपान्तरणसँग जोड्न आवश्यक छ,’ उनले भने।

    स्टार्टअप अभियन्तासमेत रहेका सांसद चन्दले सुदूरपश्चिमका विश्वविद्यालयले स्थानीय कृषि, जलवायु परिवर्तन, विपद् जोखिम, जैविक विविधता, पर्यटन, स्वास्थ्य र डिजिटल पहुँचका समस्यालाई अनुसन्धानको प्राथमिकतामा राख्नुपर्ने बताए।

    सम्मेलनमा सुदूरपश्चिमका कृषि, पर्यटन, जैविक विविधता, जडीबुटी, परम्परागत औषधि तथा सांस्कृतिक सम्पदालाई आधुनिक प्रविधिसँग जोडेर नयाँ उद्यम र रोजगारी सिर्जना गर्न सकिने विषयमा पनि छलफल भएको थियो। स्थानीय ज्ञानको वैज्ञानिक अभिलेखीकरण तथा अनुसन्धान, पर्यटनमा डिजिटल सूचना प्रणाली र स्थानीय उत्पादनको बजारीकरणमा प्रविधिको प्रयोग गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

    सुदूरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टले विश्वविद्यालयमा हुने अनुसन्धान र सूचना प्रविधिका उपलब्धिलाई नागरिकको दैनिक जीवन तथा स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्ने बताए। अनुसन्धानका नतिजाबाट किसान, उद्यमी, स्थानीय तह र समुदायले लाभ लिन सक्ने वातावरण बनाउन तीनै तहका सरकारले सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न नवप्रवर्तनमा आधारित उद्यमशीलताको विकास अपरिहार्य रहेको बताए। यस्तो कार्य विश्वविद्यालय वा सरकारले एक्लै गर्न नसक्ने उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र, अनुसन्धानकर्ता, उद्यमी र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच हुँदै आएको सहकार्यलाई नवप्रवर्तनमा आधारित उद्यम विकाससम्म विस्तार गर्नुपर्ने बताए। विश्वविद्यालयसँग सहकार्य गरी सुदूरपश्चिमका गाउँगाउँमा रहेका सम्भावना पहिचान गर्दै उद्यमशीलता विकास गर्न निजी क्षेत्र तयार रहेको उनको भनाइ थियो।

    कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं इन्क्युबेसन सेन्टरका सदस्य पुष्करराज ओझाले सुदूरपश्चिमका सम्भावनालाई उद्यममा रूपान्तरण गर्न सबै पक्षसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए। विदेशमा सीप सिकेर फर्किएका तथा स्वदेशमै उद्यम गर्न चाहने युवालाई आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

    सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. किशनदत्त भट्टले विश्वविद्यालय नवप्रवर्तनको मुख्य आधार बन्न सक्ने बताउँदै यसका लागि सबै सरोकारवालासँग सहकार्य गर्न आग्रह गरे। उनले स्टार्टअप नीति, उद्यमशीलता प्रवर्द्धन कार्यक्रम, संयुक्त अनुसन्धान र विद्यार्थीका नवीन विचारलाई व्यवसायमा रूपान्तरण गर्न आवश्यक लगानी प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

    ‘विश्वविद्यालय सरोकारवालासँग सहकार्य गरी क्षेत्रगत तथा जिल्लागत सम्भावना र समस्याको अध्ययन गर्न तयार छ। बदलिँदो समयअनुसारको व्यावहारिक शिक्षा र प्रविधिका माध्यमबाट कृषि, वन, पर्यटन, जलस्रोत, विपद् व्यवस्थापन र स्थानीय उद्यमका क्षेत्रमा अनुसन्धानमा आधारित परियोजना सञ्चालन गर्न सकिन्छ। आउनुस्, सहकार्य गरौँ,’ उपकुलपति भट्टले भने।

    कैलाली बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले ज्ञान, प्रविधि र सिर्जनात्मक क्षमताको महत्त्व बढ्दै गएकाले विद्यार्थी, अनुसन्धानकर्ता र उद्यमीले विश्वव्यापी ज्ञान तथा बजारसँग जोडिने अवसर उपयोग गर्नुपर्ने बताए। सुदूरपश्चिम विश्वविद्यालयमा स्थापना गरिएको इन्क्युबेसन सेन्टरमार्फत नवउद्यमीलाई तालिम, व्यावसायिक योजना विकास, बीउ पुँजी व्यवस्थापन र व्यवसाय प्रवर्द्धनमा सहयोग भइरहेको उनले जानकारी दिए।

    इन्क्युबेसन सेन्टरका संयोजक सहप्राध्यापक डा. राजेन्द्रवीर चन्दले प्रदेशका स्थानीय सम्भावना, नवीन सोच, व्यावहारिक सीप र बजारका अवसर पहिचान गरी तिनलाई व्यावहारिक, दिगो तथा लगानीयोग्य उद्यममा रूपान्तरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए। पहिलोपटक आयोजना गरिएको सम्मेलनबाट प्राप्त सिकाइका आधारमा आगामी दिनमा थप प्रभावकारी र योजनाबद्ध काम गरिने उनको भनाइ थियो।

    सम्मेलनको पहिलो र दोस्रो दिन उद्यमशीलता विकास, व्यावसायिक अवसर पहिचान, बजारको आवश्यकता, व्यवसायको नमुना निर्माण, उत्पादन तथा सेवाको मूल्य निर्धारण, वित्तीय प्रक्षेपण, लगानीका लागि व्यावसायिक योजना, नवप्रवर्तन तथा उद्यमशीलताको सम्भावना, विश्वविद्यालयको भूमिका, निजी क्षेत्रको योगदान र उद्यमशीलतामार्फत प्रदेशको आर्थिक रूपान्तरणलगायत विषयमा छलफल भएका छन्।

    सम्मेलनको अन्तिम दिन आइतबार राष्ट्रिय स्टार्टअप नीति, उद्योग क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र नयाँ उद्यमलाई वित्तीय सहयोग उपलब्ध गराउने विषयमा छलफल हुने कार्यक्रम छ। विश्वविद्यालयका विद्यार्थी तथा युवा उद्यमीले आफ्ना व्यावसायिक योजनाको अन्तिम प्रस्तुतीकरण गर्ने र निर्णायकबाट मूल्याङ्कन गरिनेछ।

    त्यसैगरी संस्थागत प्रतिबद्धता व्यक्त गर्ने, प्रारम्भिक लगानी सहयोगसम्बन्धी घोषणा गर्ने तथा पुरस्कार वितरणपछि सम्मेलन समापन हुने इन्क्युबेसन सेन्टरका संयोजक डा. चन्दले जानकारी दिए।