उत्पादन घटे पनि तिहारमा बिजुली अभाव नहुने, ९०० मेगावाटसम्म बचतको अनुमान - Chaitanya News
  • 2026-11-02
  • 16:48:14
  • सोमबार,कार्तिक १७, २०८३
  • उत्पादन घटे पनि तिहारमा बिजुली अभाव नहुने, ९०० मेगावाटसम्म बचतको अनुमान

    उत्पादन घटे पनि तिहारमा बिजुली अभाव नहुने, ९०० मेगावाटसम्म बचतको अनुमान

    काठमाडौं– बाढीपहिरोका कारण ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ । नदीहरूमा पानीको बहाव घट्दै जाँदा जलविद्युत् उत्पादनसमेत क्रमशः घटिरहेको छ । तर, यी चुनौतीका बाबजुद नेपाल विद्युत् प्राधिकरणले तिहारमा विद्युत् आपूर्ति सहज बनाउने दाबी गरेको छ ।

    उज्यालोको पर्व तिहार नजिकिँदै गर्दा विशेषगरी लक्ष्मीपूजाका दिन बढ्ने विद्युत् माग व्यवस्थापन गर्न प्राधिकरणले विशेष तयारी गरेको हो । उत्पादनमा आएको गिरावटले चाडपर्वको विद्युत् आपूर्तिमा असर नपर्ने र झ्याप्प–झ्याप्प बत्ती जाने अवस्था आउन नदिने प्राधिकरणको भनाइ छ ।

    गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछिका अविरल वर्षा र पहिरोले जलविद्युत् आयोजना र प्रसारण संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । बाढीका कारण ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ । अन्य आयोजनाहरू तथा प्रसारण लाइनमा समेत क्षति पुगेपछि विद्युत् उत्पादनमा संकुचन आएको छ ।

    यद्यपि, प्राधिकरणले उपलब्ध विद्युत्को प्रभावकारी व्यवस्थापन, उद्योगहरूको बन्द अवस्था र घरायसी मागको प्रक्षेपणका आधारमा तिहारमा आपूर्ति सहज हुने निष्कर्ष निकालेको छ ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार तिहारमा घरायसी प्रयोजनका लागि विद्युत् खपत बढे पनि ठूला उद्योग तथा कलकारखाना बन्द रहने भएकाले प्रणालीमा मागको चाप कम हुन्छ ।

    ‘चाडपर्वका बेला घरायसी बत्तीको माग बढे पनि ठूलो परिमाणमा विद्युत् खपत गर्ने उद्योगधन्दा बन्द रहन्छन् । यसले गर्दा घरायसीतर्फ बढेको मागलाई उद्योगतर्फको बचतले सजिलै पूर्ति गर्छ । प्राधिकरणले त्यहीअनुसार व्यवस्थापन गर्छ,’ उनले भने ।

    प्राधिकरणले सम्भावित प्राविधिक समस्या रोक्न देशभरका वितरण तथा प्रसारण संरचनाको मर्मतसम्भार र सुधारलाई प्राथमिकता दिएको छ । क्षमता अपुग भएका ट्रान्सफर्मर परिवर्तन गर्ने, तारहरू सुदृढ बनाउने तथा सबस्टेसनहरूको मर्मत गर्ने कामलाई निरन्तरता दिइएको श्रेष्ठले बताए ।

    तिहार अवधिभर विद्युत् आपूर्तिमा अवरोध आउन नदिन मर्मत टोली, डिफेन्डर र नो लाइटका प्राविधिकलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिने उनको भनाइ छ ।

    ‘तिहारको अवधिभर कुनै पनि किसिमका प्राविधिक अवरोध, अवाञ्छित ट्रिपिङ वा लाइन जाने समस्या हुन नदिन प्राधिकरण पूर्ण रूपमा तयार छ । अब हाम्रा सबै टोली तयारी अवस्थामा छन्,’ श्रेष्ठले भने ।

    यस वर्षको मौसमले पनि विद्युत् माग व्यवस्थापनमा सहजता थप्ने प्राधिकरणको आकलन छ । अत्यधिक जाडो वा गर्मी नरहेकाले एसी, हिटर र पङ्खाजस्ता बढी विद्युत् खपत गर्ने उपकरणको प्रयोग कम हुने अपेक्षा गरिएको छ ।

    १ हजार ६०० मेगावाट हाराहारीमा माग रहने अनुमान:

    प्राधिकरणका अनुसार विगतका वर्षहरूमा लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकामा ३५० देखि ३६० मेगावाटसम्म विद्युत् माग हुने गरेको छ । यस वर्ष पनि उपत्यकाको माग सोही हाराहारीमा रहने अनुमान छ ।

    समग्र राष्ट्रिय विद्युत् माग भने १ हजार ६०० मेगावाटको आसपास रहने प्राधिकरणको प्रक्षेपण छ । गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत् माग १ हजार ६५० मेगावाट पुगेको थियो । त्यस्तै, २०८० सालमा १ हजार ४३८ मेगावाट र २०७९ सालमा १ हजार ३०५ मेगावाट माग रहेको थियो ।

    हरेक वर्ष विद्युत् माग बढ्दै गए पनि यस वर्ष उद्योगधन्दा बन्द रहने र मौसम अनुकूल हुने भएकाले माग व्यवस्थापनमा कठिनाइ नहुने कार्यकारी निर्देशक श्रेष्ठको आकलन छ ।

    उत्पादन घटे पनि आन्तरिक मागभन्दा आपूर्ति बढी:

    नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता अहिले करिब ४ हजार मेगावाट पुगेको छ । तर, अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले सुक्खायाम सुरु भएसँगै उत्पादन घट्न थालेको छ ।

    नदीमा पानीको बहाव कम हुनु र बाढीले ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहनुले अहिले कुल उत्पादन ३ हजार १०० देखि ३ हजार २०० मेगावाटको हाराहारीमा सीमित भएको छ ।

    तर, आन्तरिक विद्युत् मागभन्दा उपलब्ध उत्पादन बढी रहेकाले तत्काल आपूर्तिमा समस्या नहुने प्राधिकरणको दाबी छ । प्रवक्ता घिमिरेका अनुसार लक्ष्मीपूजाका दिनसमेत उत्पादन र आन्तरिक खपतबीचको अन्तरका कारण ८०० देखि ९०० मेगावाटसम्म विद्युत् बचत हुने अनुमान छ ।

    बचत भएको विद्युत् भारततर्फ निर्यात गर्न सकिने अवस्था रहेको प्राधिकरणको भनाइ छ । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार नेपाल कम्तीमा एक महिनासम्म बाहिरबाट विद्युत् आयात गर्नुपर्ने अवस्थामा छैन ।

    लोडसेडिङबाट उज्यालोको पर्वसम्मको यात्रा:

    केही वर्षअघिसम्म तिहारको लक्ष्मीपूजाका दिनसमेत नेपालीले पालो कुरेर बत्ती बाल्नुपर्ने अवस्था थियो । २०७५ सालअघि दैनिक १४ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । विद्युत् आपूर्ति अनिश्चित हुँदा घरघरमा इन्भर्टर, जेनेरेटर र मैनबत्तीको प्रयोग बढेको थियो ।

    तर, प्राधिकरणले २०७३ सालको लक्ष्मीपूजाबाट काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गर्ने परीक्षण सुरु गरेको थियो । उक्त परीक्षण सफल भएपछि क्रमशः विद्युत् व्यवस्थापनमा सुधार हुँदै गयो । अन्ततः २०७५ साल वैशाखबाट मुलुकलाई पूर्ण रूपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।

    त्यसयता नेपालको ऊर्जा क्षेत्रमा उत्पादन क्षमता र विद्युत् आपूर्ति दुवैमा उल्लेख्य सुधार आएको छ । अहिले बाढीपहिरोका कारण ठूलो परिमाणमा विद्युत् उत्पादन प्रभावित भए पनि आन्तरिक माग धान्न सकिने अवस्थामा रहेको प्राधिकरणको दाबी छ ।

    यसपटकको चुनौती भनेको उत्पादनमा आएको गिरावटबीच चाडपर्वको बढ्दो मागलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नु हो । त्यसका लागि प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नुका साथै वितरण प्रणालीको मर्मत र सुदृढीकरणमा प्राधिकरणले जोड दिएको छ ।