बैंकिङ क्षेत्रमा नाफाको उछाल, तीन महिनामै २० बैंकले कमाए १९ अर्ब बढी - Chaitanya News
  • 2026-11-01
  • 13:50:58
  • आइतबार,कार्तिक १६, २०८३
  • बैंकिङ क्षेत्रमा नाफाको उछाल, तीन महिनामै २० बैंकले कमाए १९ अर्ब बढी

    बैंकिङ क्षेत्रमा नाफाको उछाल, तीन महिनामै २० बैंकले कमाए १९ अर्ब बढी

    काठमाडौं– वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३९ प्रतिशत बढी हो।

    बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफा बढेको छ। केही बैंकको नाफा भने घटेको छ। समीक्षा अवधिमा १० वटा बैंकले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्।

    नबिल सबैभन्दा अगाडि, ग्लोबल दोस्रो स्थानमा

    नाफा आर्जनका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ थियो।

    दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने नाफामा ठूलो फड्को मारेको छ। गत वर्ष पहिलो त्रैमासमा ५८ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ पुर्‍याएको छ।

    यी १० बैंकले कटाए एक अर्बको नाफा

    पहिलो त्रैमासमा नबिल, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकसहित १० बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन्।

    एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

    त्यस्तै, एनएमबि बैंकले १ अर्ब १६ करोड ४२ लाख, कृषि विकास बैंकले १ अर्ब ९ करोड २३ लाख, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख र सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

    सिटिजन्स घाटाबाट नाफामा, केही बैंकको छलाङ

    सिटिजन्स बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा व्यहोरेको २२ करोड ४ लाख रुपैयाँ घाटालाई उल्टाउँदै यस वर्ष १० करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ।

    त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४५ करोड ५ लाखबाट बढेर १ अर्ब १८ करोड १४ लाख पुगेको छ। राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सानिमा बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकको नाफामा पनि उल्लेख्य वृद्धि देखिएको छ।

    यद्यपि, सबै बैंकको नाफा बढेको छैन। प्राइम कमर्सियल बैंकको नाफा अघिल्लो वर्षको १ अर्ब २५ करोड ८४ लाखबाट घटेर १ अर्ब १८ करोड ७६ लाखमा सीमित भएको छ। एनएमबि बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा पनि गिरावट आएको छ।

    २० वाणिज्य बैंकको नाफा विवरण:

    बैंकको नाम चालु आर्थिक वर्षको नाफा
    १– नबिल बैंक २ अर्ब ५५ करोड ५१ लाख
    २– ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख्र
    ३– राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६४ करोड ९८ लाख
    ४– एभरेष्ट बैंक १ अर्ब २५ करोड २७ लाख
    ५– प्राइम कमर्सियल बैंक १ अर्ब १८ करोड ७६ लाख
    ६– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १ अर्ब १८ करोड १४ लाख
    ७– एनएमबि बैंक १ अर्ब १६ करोड ४२ लाख
    ८– कृषि विकास बैंक १ अर्ब ९ करोड २३ लाख
    ९– कुमारी बैंक १ अर्ब ७ करोड ४५ लाख
    १०– सानिमा बैंक १ अर्ब ५ करोड १४ लाख
    ११– सिद्धार्थ बैंक ८५ करोड १५ लाख
    १२– नेपाल बैंक ८३ करोड २१ लाख
    १३– हिमालयन बैंक ६८ करोड ४८ लाख
    १४– स्ट्यान्डर्ड चार्टर्ड बैंक ६७ करोड १४ लाख
    १५– लक्ष्मी सनराइज बैंक ६५ करोड ३३ लाख
    १६– प्रभु बैंक ६४ करोड ७४ लाख
    १७– नेपाल एसबिआई बैंक ५५ करोड ८५ लाख
    १८– माछापुच्छ्रे बैंक ५५ करोड ११ लाख
    १९– एनआइसी एशिया बैंक १२ करोड ७४ लाख
    २०– सिटिजन्स बैंक १० करोड २७ लाख

    समग्रमा पहिलो त्रैमासको वित्तीय विवरणले वाणिज्य बैंकहरूको नाफामा सुधार आएको देखाएको छ। विशेषगरी नबिल र ग्लोबल आइएमईले नाफामा अग्रता कायम गर्दा राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उल्लेख्य वृद्धि गरेका छन्।