धनगढीः सुदूरपश्चिम प्रदेशमा कार्यरत विभिन्न वन उपभोक्ता समूहले वन क्षेत्रमा देखिएका नीतिगत, कानुनी तथा व्यवस्थापकीय समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिका पदाधिकारीले शुक्रबार मुख्यमन्त्री खगराज भट्टलाई २४ बुँदे ज्ञापनपत्र बुझाउँदै सामुदायिक तथा साझेदारी वनको व्यवस्थापन, वन पैदावारको उपयोग र राजस्व बाँडफाँटमा देखिएका समस्या समाधान गर्न माग गरेका हुन् ।
ज्ञापनपत्रमार्फत वनसम्बन्धी विद्यमान कानुन संशोधन गरी वन उपभोक्ताको अधिकार सुनिश्चित गर्न पनि आग्रह गरिएको छ ।
साझेदारी वन उपभोक्ता महासङ्घ, नेपालका केन्द्रीय महासचिव यादवप्रसाद भण्डारीका अनुसार समितिले यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायलाई पटकपटक ध्यानाकर्षण गराए पनि माग सम्बोधन नभएपछि पुनः प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्रमा वन क्षेत्रभित्र रहेका तालतलैया तथा अन्य प्राकृतिक स्रोतको व्यवस्थापनमा स्थानीय समुदायको अधिकार सुनिश्चित गर्न, सामुदायिक वनका स्वीकृत कार्ययोजना कार्यान्वयनमा स्थानीय तहबाट हुने अनावश्यक हस्तक्षेप रोक्न र वन अतिक्रमण भएका क्षेत्रमा राजनीतिक संरक्षण अन्त्य गर्न माग गरिएको छ ।
त्यसैगरी सरकारी तथा गैरसरकारी भवन निर्माणमा स्वदेशी काठको प्रयोग अनिवार्य गर्न, काठ तथा गैरकाष्ठ वन पैदावारको आन्तरिक खपत बढाउन र वन उपभोक्ता समूहको क्षमता विकासका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।
समितिले नदी तथा चुरे क्षेत्रमा हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खननको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) लाई प्रभावकारी बनाउनुपर्ने माग पनि अघि सारेको छ । वन क्षेत्रमा आधारित उद्योग सञ्चालनका लागि अनुदान तथा सहुलियत ऋणको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिइएको छ ।
वन ऐन, नियमावली तथा वन व्यवस्थापनसम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयनमा एकरूपता कायम गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्ने समितिको माग छ ।
ज्ञापनपत्रमा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन), सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाललगायत वन उपभोक्ता समूहसँग सम्बद्ध विभिन्न संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।