काठमाडौँः ‘अर्नब’ चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै जाने भएको छ। त्यससँगै मौसममा पनि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपाल नजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ। मधेस प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ।
उक्त मौसमी प्रणालीको प्रभावले अपराह्नसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ।
महाशाखाले केही समयअघि विशेष मौसम बुलेटिन जारी गर्दै मौसमी अवस्थाबारे जानकारी गराएको हो। अपराह्नपछि भने वर्षा र हिमपातको क्रम घट्दै मौसममा क्रमिक सुधार आउने पूर्वानुमान गरिएको छ।