धनगढीः बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको छ। चक्रवातको प्रभावले शुक्रबारदेखि प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। आगामी दुई दिनसम्म सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा हुन सक्ने जलविज्ञान कार्यालयले जनाएको छ।
जलविज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार शाहका अनुसार चक्रवातको प्रभाव मध्य तथा पूर्वी नेपालमा बढी पर्ने अनुमान छ। सुदूरपश्चिममा भने तुलनात्मक रूपमा जोखिम कम रहेको उनले बताए।
उनका अनुसार प्रदेशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना नरहेकाले ठूलो बाढीको जोखिम कम छ। यद्यपि, सुदूरपश्चिमका पहाडी जिल्लामा समेत वर्षा हुन सक्ने र केही स्थानमा आकस्मिक बाढीको जोखिम रहन सक्ने अनुमान गरिएको छ। हिमाली जिल्लाहरूमा हिमपातको सम्भावनासमेत रहेको छ।
वर्षाको सम्भावनाले धान काट्ने र भित्र्याउने तयारीमा रहेका किसानलाई भने प्रभावित पार्न सक्ने देखिएको छ। मनसुन सकिएसँगै धान भित्र्याउने चटारोमा रहेका किसानलाई मौसमको अवस्था हेरेर मात्रै काम गर्न कार्यालयले आग्रह गरेको छ।
प्रमुख शाहले आगामी दुई दिन धान काट्ने तथा भित्र्याउने काम नगर्न किसानलाई सुझाव दिएका छन्।
यसैबीच, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतका निकायहरूले देशका विभिन्न क्षेत्रमा पहिरोको जोखिमसमेत औँल्याएका छन्। मौसम पूर्वानुमानअनुसार सोमबारदेखि क्रमशः बादल हट्दै जाने र वर्षाको सम्भावना पनि घट्दै जानेछ।