'बैसाखी’ कथासंग्रहमाथि विमर्श, धनगढी साहित्य सम्मेलनको तयारी तीव्र - Chaitanya News
  • 2026-10-31
  • 12:51:58
  • शनिबार,कार्तिक १५, २०८३
  • ‘बैसाखी’ कथासंग्रहमाथि विमर्श, धनगढी साहित्य सम्मेलनको तयारी तीव्र

    ‘बैसाखी’ कथासंग्रहमाथि विमर्श, धनगढी साहित्य सम्मेलनको तयारी तीव्र

    धनगढीः कथाकार यज्ञराज जोशीद्वारा लिखित कथासंग्रह ‘बैसाखी’ को गृहविमोचन तथा आगामी मङ्सिर १९ देखि २१ गतेसम्म आयोजना हुने धनगढी साहित्य सम्मेलनको तयारीका विषयमा छलफल गरिएको छ।

    सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको छलफल कार्यक्रममा साहित्यकार, समालोचक, जनप्रतिनिधि तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा रामलाल जोशी, सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, सामाजिक विकास समितिका सभापति धर्मराज पाठक, श्रेष्ठप्रिया, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलालगायतको उपस्थिति थियो।

    धनगढी साहित्य सम्मेलनबारे चर्चा गर्दै अध्यक्ष जोशीले विगतमा सुरु भएको साहित्यिक सम्मेलनको टुटेको शृङ्खलालाई पुनः निरन्तरता दिन लागिएको जानकारी दिए। मङ्सिर १९ देखि २१ गतेसम्म हुने सम्मेलनले धनगढीलाई साहित्यिक तथा बौद्धिक विमर्शको केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्‍याउने उनको विश्वास थियो।

    यसैगरी, सुदूरपश्चिमाञ्चल साहित्य समाजका उपाध्यक्ष टोपेन्द्र शाहले स्वागत मन्तव्य राख्दै २०५५ सालमा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै धनगढीलाई बौद्धिकता र चेतनाको सहरका रूपमा विकास गर्न निरन्तर काम गर्दै आएको बताए। संस्थाले नियमित रूपमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले मङ्सिरमा हुने साहित्य सम्मेलनको तयारी भइरहेको जानकारी दिए। उनले कथाकार यज्ञराज जोशीलाई कथासंग्रह प्रकाशनका लागि शुभकामना पनि व्यक्त गरे।

    कार्यक्रममा चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशप्रसाद जोशीले कथाकार यज्ञराज जोशीलाई शुभकामना दिँदै साहित्य क्षेत्रमा नयाँ मानक स्थापित गर्न सफल होऊन् भन्ने शुभेच्छा व्यक्त गरे।

    उनले धनगढीमा भइरहेका विभिन्न साहित्यिक तथा बौद्धिक गतिविधिले सहरमा जागरण र चेतनाको स्तर बढाउन योगदान पुर्‍याइरहेको बताए।