एनपीएलः आज जनकपुर र पोखरा भिड्दै - Chaitanya News
  • 2026-11-01
  • 09:39:44
  • आइतबार,कार्तिक १६, २०८३
  • एनपीएलः आज जनकपुर र पोखरा भिड्दै

    एनपीएलः आज जनकपुर र पोखरा भिड्दै

    काठमाडौँ– जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्।

    प्रतियोगितामा जनकपुर एक जित र एक हारसहित अघि बढिरहेको छ भने पोखरा पहिलो जितको खोजीमा छ। जनकपुर आफ्नो पछिल्लो जितको लय कायम राख्न चाहन्छ भने पोखरालाई प्रतियोगितामा पुनरागमन गर्ने अवसर हुनेछ।

    जनकपुरले प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। तर दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गर्दै जनकपुरले जितको खाता खोलेको थियो।

    यता पोखराले भने प्रतियोगितामा खेलेको पहिलो खेलमै सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। त्यसैले आजको खेल पोखराका लागि पहिलो जित निकाल्दै अंकतालिकामा सुधार गर्ने अवसरका रूपमा रहनेछ।

    जनकपुर जितको लयलाई निरन्तरता दिने योजनामा रहँदा पोखरा भने हारको शृङ्खला रोक्दै प्रतियोगितामा फर्कने दबाबमा हुनेछ।