धान फल्ने खेतमा सयपत्रीको क्रान्ति, ५० हजारको आम्दानीबाट १२ लाखको लक्ष्य - Chaitanya News
  • 2026-11-01
  • 09:33:13
  • आइतबार,कार्तिक १६, २०८३
  • धान फल्ने खेतमा सयपत्रीको क्रान्ति, ५० हजारको आम्दानीबाट १२ लाखको लक्ष्य

    धान फल्ने खेतमा सयपत्रीको क्रान्ति, ५० हजारको आम्दानीबाट १२ लाखको लक्ष्य

    भद्रपुर– वर्षभरि धान फलाउँदा मुस्किलले ५० हजार रुपैयाँ आम्दानी हुने खेतमा अहिले सयपत्री फूल ढकमक्क फुलेका छन्। कुनै समय धानका बाला झुल्ने खेतमा अहिले फूलका थुँगा टिप्न र माला उन्न किसानलाई भ्याइनभ्याइ छ। झापाको बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसानले परम्परागत धानखेतीलाई छाडेर फूलखेती रोजेका छन्। उनीहरूको लक्ष्य छ, एउटै जमिनबाट धानको भन्दा कैयौँ गुणा बढी आम्दानी गर्ने।

    विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक रूपमा १० कट्ठा जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेर व्यावसायिक फूलखेती सुरु गरेका हुन्। ‘कृषि कम्पास’ समूह गठन गरी पाँच लाख ५० हजार रुपैयाँ लगानी गरेका उनीहरूले यस वर्ष फूल बिक्रीबाट १० देखि १२ लाख रुपैयाँसम्म कारोबार गर्ने लक्ष्य राखेका छन्।

    यो केवल तीन किसानले खेतीको स्वरूप बदलेको कथा होइन, परम्परागत कृषि प्रणालीमा आम्दानीको हिसाब खोज्न थालिएको एउटा उदाहरण पनि हो।

    पाँच–सात वर्षको धानखेती बराबर आम्दानीको लक्ष्य:

    समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही १० कट्ठा जमिनमा धानखेती गर्दा करिब ३० मन उत्पादन हुन्थ्यो। त्यसको बजार मूल्य जम्मा ५० हजार रुपैयाँ हाराहारीमा सीमित थियो। तर त्यही जमिनमा सयपत्री लगाउँदा एकै वर्षमा १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ।

    “यही जग्गामा धान रोपेको भए जम्माजम्मी ३० मन उत्पादन हुन्थ्यो। त्यसको बजार मूल्य करिब ५० हजारमात्रै हो। पाँच–सात वर्ष धानखेती गरेर हुने आम्दानी फूलखेतीबाट एकै वर्षमा लिन सकिने देखिएको छ”, न्यौपानेले भने।

    किसानका लागि जमिनको उत्पादन क्षमता मात्र होइन, त्यसबाट प्राप्त हुने आम्दानी पनि महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश उनीहरूको प्रयोगले दिएको छ। परम्परागत खेतीमा अभ्यस्त किसानलाई वैकल्पिक नगदेबालीतर्फ आकर्षित गर्न सकिने सम्भावना यसले देखाएको छ।

    समूहले १० कट्ठामा लगाएको सयपत्रीबाट करिब १० हजार माला उत्पादन हुने अनुमान गरेको छ। एउटा मालाको मूल्य १०० देखि १५० रुपैयाँसम्म पर्ने भएकाले बजारमा उत्पादन खपत हुन सके अपेक्षित आम्दानी लिन सकिने उनीहरूको विश्वास छ।

    अहिले खेतबाट फूल टिप्ने, माला उन्ने र तयार भएका माला कोल्डस्टोरमा राख्ने काम भइरहेको छ। फूलको गुणस्तर कायम राख्दै बजारको मागअनुसार आपूर्ति गर्न उनीहरूले भण्डारणको व्यवस्थासमेत गर्न थालेका छन्।

    १० कट्ठाबाट तीन बिघातर्फ किसानको छलाङ:

    पहिलो वर्षको लगानी र उत्पादनबाट उत्साहित किसान अब खेती विस्तारको तयारीमा छन्। समूहका सदस्य विनोद रिजालका अनुसार आगामी वर्ष तीन बिघा क्षेत्रफलमा सयपत्रीखेती विस्तार गर्ने योजना बनाइएको छ।

    यस वर्षको अनुभवले फूलखेतीमा सम्भावना देखाए पनि आगामी विस्तारको आधार बजारको माग र बिक्री सुनिश्चितता हुने उनीहरूको बुझाइ छ। उत्पादन बढाएर मात्र हुँदैन, उत्पादित फूलले उचित मूल्यमा बजार पाउनुपर्छ भन्ने चुनौती उनीहरूका सामु छ।

    झापामा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। बुद्धशान्तिका शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा पनि ठूलो क्षेत्रफलमा फूलखेती भइरहेको छ। यसले झापालाई फूल उत्पादनको सम्भावित केन्द्रका रूपमा विकास गर्न सकिने संकेत गरेको छ।

    स्थानीयसमेत रहेका ‘सुन्दर शान्त नेपाल’का अभियानकर्मी मनिष दाहालका अनुसार जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको आकर्षण बढिरहेको छ। खेती विस्तारको यही गति कायम रहे झापा फूल उत्पादनमा आत्मनिर्भर बन्न सक्ने उनको आकलन छ।

    किसान फूल फलाउँदैछन्, बजार भने अझै भारतकै भरमा:

    तर किसानको उत्साहसँगै एउटा गम्भीर प्रश्न पनि जोडिएको छ, खेतमा उत्पादन भएको फूलले बजार पाउने सुनिश्चितता कसले गर्ने?

    फूलखेतीमा उत्पादनभन्दा पनि बजार व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। फूल टिपेपछि लामो समयसम्म सुरक्षित राख्नुपर्ने, ढुवानी गर्नुपर्ने र मागअनुसार बजारसम्म पुर्‍याउनुपर्ने समस्या किसानले भोगिरहेका छन्। त्यसमाथि भारतबाट आयात हुने फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ।

    स्थानीय किसानले लगानी गरेर फूल उत्पादन गरे पनि आयातित फूलले बजार ओगट्ने हो भने उनीहरूको लगानी जोखिममा पर्न सक्छ। उत्पादन गर्न प्रोत्साहन गर्ने तर बिक्रीका बेला बजारको सुनिश्चितता नगर्ने अवस्था रहे व्यावसायिक फूलखेती दिगो हुन कठिन हुन्छ।

    यही समस्यालाई लिएर जिल्लाका व्यावसायिक फूल किसानको समूहले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई सातबुँदे मागपत्र बुझाएको थियो। उनीहरूले स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिन र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका थिए।

    किसानको माग र जिल्लामा फूलखेतीको वास्तविक अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी पोखरेल शनिबार बुद्धशान्ति पुगे। उनले व्यावसायिक फूलखेती गरिरहेका किसानसँग भेट गरी उत्पादन, बजार र उनीहरूले भोगिरहेका समस्याबारे स्थलगत जानकारी लिए।

    पोखरेलले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था भए बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने बताए।

    “तपाईंहरूले सामूहिक रूपमा गरेको व्यावसायिक फूलखेती र स्वदेशी उत्पादनले बजार पाउनुपर्छ भन्ने माग जायज छ। प्रशासनले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिन्छ”, उनले भने, “झापामा फूलको ठूलो माग हुने भएकाले स्थानीय उत्पादनले बजारको माग धान्दैन कि भन्ने चिन्ता हो। पूर्वी पहाडका अन्य जिल्लाबाट पनि फूल मगाउन सकिन्छ।”

    उनको भनाइले स्थानीय उत्पादनलाई प्राथमिकता दिन प्रशासन सकारात्मक देखिए पनि बजारको माग र आपूर्तिको सन्तुलन मिलाउनु आवश्यक रहेको स्पष्ट पार्छ।

    उत्पादन बढाउने योजना, बजार संरक्षणको जिम्मेवारी कसको?

    झापामा फूलखेती विस्तार हुँदै गर्दा अब मुख्य चुनौती उत्पादन बढाउनु मात्र होइन, स्थानीय किसानको उत्पादनलाई बजारमा स्थापित गर्नु पनि हो। किसानले लगानी, श्रम र जोखिम उठाएर फूल उत्पादन गर्ने तर बजारमा आयातित फूलसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आए उनीहरूको उत्साह लामो समय टिक्न सक्दैन।

    स्थानीय उत्पादनको संरक्षणका लागि अनधिकृत आयात नियन्त्रण, भण्डारण सुविधा, ढुवानी व्यवस्थापन र बजारसँग किसानको प्रत्यक्ष पहुँच आवश्यक देखिन्छ। साथै, फूलको माग र स्थानीय उत्पादनको वास्तविक परिमाणबारे तथ्यांक संकलन गरी आयात व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छ।

    बुद्धशान्तिका किसानले धानखेतीबाट हुने सीमित आम्दानीको विकल्प खोज्दै सयपत्री खेती सुरु गरेका छन्। १० कट्ठाबाट तीन बिघातर्फ विस्तार गर्ने उनीहरूको योजना सफल भए यसले अन्य किसानलाई पनि परम्परागत खेतीको विकल्प खोज्न प्रेरित गर्न सक्छ।

    तर किसानको सफलता उनीहरूले कति फूल फलाए भन्नेमा मात्र निर्भर हुने छैन। फलाएको फूल कति बिक्री भयो, उचित मूल्य पाए कि पाएनन् र अर्को वर्ष फेरि खेती गर्ने अवस्था बन्यो कि बनेन भन्ने कुराले यसको भविष्य निर्धारण गर्नेछ।

    धान फल्ने खेतमा फूल फुल्नु कृषि विविधीकरणको संकेत हो। तर ती फूल किसानको आम्दानीमा रूपान्तरण हुन स्थानीय बजार, प्रशासन र सम्बन्धित निकायले पनि जिम्मेवारी लिनुपर्नेछ। नत्र खेतमा सयपत्री ढकमक्क फुले पनि किसानको हातमा आम्दानी होइन, लगानी डुब्ने जोखिम मात्र रहन सक्छ।