काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैली र शक्तिको प्रयोग गर्ने प्रवृत्तिप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले सरकारको पछिल्लो गतिविधिले राज्यका निकायलाई आफ्नो आदेश पालना गराउने संस्थाका रूपमा बुझ्ने प्रवृत्ति देखाएको टिप्पणी गरेका छन्।
विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मी पक्राउ गरिएको तथा पक्राउ गर्ने तयारी भइरहेको विषयसमेत जोड्दै थापाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
सरकारको पछिल्लो कामकारबाही चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै उनले राज्यका सबै निकाय आफूअनुकूल चलाउन खोज्ने सोच देखिएको बताए।
‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो। प्रवृत्ति चिन्तित नै बनाउने खालको छ,’ उनले भने, ‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो।’
थापाले सरकारबाट शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको आरोपसमेत लगाए। उनका अनुसार सरकारको इच्छा नै कानुनसरह हुने प्रवृत्ति देखिनु राज्य सञ्चालनका दृष्टिले चिन्ताको विषय हो।
‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ,’ उनले भने, ‘मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो। प्रवृत्तिले हद नाघेको छ।’
उनको टिप्पणी विशेषगरी सञ्चारमाध्यममा भएको पछिल्लो गतिविधि र सञ्चारकर्मीमाथि पक्राउको विषयलाई लिएर सरकारको कार्यशैलीमाथि उठेको राजनीतिक प्रश्नका रूपमा आएको छ।