कर्मचारीदेखि व्यवसायीसम्म त्रसित छन्, अर्थतन्त्र कसरी चल्छ ? : गगन थापा - Chaitanya News
  • 2026-11-01
  • 16:32:51
  • आइतबार,कार्तिक १६, २०८३
  • कर्मचारीदेखि व्यवसायीसम्म त्रसित छन्, अर्थतन्त्र कसरी चल्छ ? : गगन थापा

    कर्मचारीदेखि व्यवसायीसम्म त्रसित छन्, अर्थतन्त्र कसरी चल्छ ? : गगन थापा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको शिथिल अर्थतन्त्र सुधारका लागि सरकारलाई सहयोग गर्न प्रमुख प्रतिपक्षी दल तयार रहेको बताएका छन् । उनले अर्थतन्त्र सुधार्ने विषयमा राजनीतिक सहकार्य गर्नुपर्ने बेला सरकारको कार्यशैलीले कर्मचारी, व्यवसायी र राज्यका निकायमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाए ।

    प्रमुख प्रतिपक्षी दलका तर्फबाट सरकारप्रति धारणा सार्वजनिक गर्दै थापाले अहिले मुलुकको अर्थतन्त्र दबाबमा रहेकाले सरकारको प्राथमिकता आर्थिक सुधार हुनुपर्ने बताए ।

    उनले प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटीमा परेको दबाब र अर्थतन्त्रको वर्तमान अवस्थालाई ध्यानमा राखेर सरकारले आफ्नो ध्यान आर्थिक गतिविधि चलायमान बनाउन केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।

    ‘अहिले हाम्रो अर्थतन्त्र ठीक छैन। फागुन अगाडि ठीक थियो म भन्दिन ठीक थिएन। प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटी दबाबमा छ। यस्तो बेलामा फोकस अर्थतन्त्रमा हुनुपर्ने हैन ?’ उनले प्रश्न गरे ।

    सरकारप्रति विश्वासको संकट बढेको दाबी गर्दै उनले कर्मचारी, व्यवसायी, प्रहरी र संवैधानिक निकायसमेत त्रसित अवस्थामा रहेको टिप्पणी गरे ।

    ‘यी सबको कारण विश्वासको संकट हो। सरकारको पोलिसी यस्तो छैन। सब थुरथुर छन् कर्मचारी थुरथुर, व्यवसायी थुरथुर। अहिले प्रहरीको हालत हेर्नुस् त, संवैधानिक निकायको हालत हेर्नुस् त,’ उनले भने ।

    थापाले अर्थतन्त्रलाई तर्साएर नभई विश्वास र भरोसाको वातावरण बनाएर सुधार गर्नुपर्ने बताए । सरकारले राजनीतिक तथा प्रशासनिक क्षेत्रमा अन्योल सिर्जना गर्दा आर्थिक गतिविधि थप प्रभावित हुने उनको भनाइ छ ।

    सरकारले आर्थिक सुधारका लागि आवश्यक कानुन निर्माण तथा नीतिगत निर्णय गर्न चाहे कांग्रेसले सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।

    ‘शिथिल भएको इकोनोमीलाई तर्साएर हैन भरोसा र विश्वास दिनुपर्ने हो। अहिले गन्जागोल बनाइदिएर कहीँ कतै केही गर्न सक्दैनौं,’ उनले भने ।

    सरकारलाई प्रतिपक्षीको सहयोग लिन आग्रह गर्दै उनले विधेयक पारित गर्न वा आर्थिक सुधारका लागि आवश्यक निर्णय गर्न अध्यादेशकै बाटो रोज्नुपर्ने अवस्था नरहेको बताए ।

    ‘यस्तो अपोजिसन पाउनु भएको छ– बिल पास गर्न चाहनु भएको? अध्यादेश ल्याउनै पर्दैन। राष्ट्रिय सभामा हामी ठूलो दल हो। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी हौं। अर्थतन्त्र सुधारको काम गरौँ भन्नु त हामी सहयोग गर्न तयार छौं,’ उनले भने ।

    थापाको अभिव्यक्तिले सरकारको आर्थिक कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टिसँगै अर्थतन्त्र सुधारका मुद्दामा सहकार्य गर्न सकिने सन्देश दिएको छ ।