काठमाडौं– नेपालका उत्तरी व्यापारिक नाका बाढीका कारण प्रभावित भएपछि वैदेशिक व्यापारको ठूलो हिस्सा भारततर्फका भन्सार नाकामा केन्द्रित हुन थालेको छ । मुलुकका २८ भन्सार विन्दुबाट वैदेशिक व्यापार भइरहे पनि आयातको झन्डै आधा हिस्सा वीरगञ्ज भन्सार नाकाले ओगटेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा नेपालले ६ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । त्यसमध्ये वीरगञ्ज भन्सार नाकाबाट मात्रै ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको ४८.३० प्रतिशत हो ।
चीनसँगको व्यापारमा प्रयोग हुने उत्तरी नाकाहरू प्रभावित भएपछि दक्षिणतर्फका नाकामा व्यापारको चाप बढेको देखिन्छ । गत १० भदौको बाढीले नेपाल–चीन व्यापारलाई मुस्ताङ नाकामा सीमित बनाएको थियो । त्यसपछि कालीगण्डकी नदीको बाढीले मुस्ताङ नाका पनि प्रभावित बनेको छ ।
आयातको परिमाणका आधारमा वीरगञ्जपछि भैरहवा दोस्रो ठूलो भन्सार नाका बनेको छ । पहिलो तीन महिनामा भैरहवा नाकाबाट ९८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको १५.२८ प्रतिशत हो ।
त्यस्तै, विराटनगर भन्सारबाट ७८ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । कुल आयातमा यसको हिस्सा १२.११ प्रतिशत छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ५१ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । यो कुल आयातको ७.९८ प्रतिशत हो ।
अन्य भन्सार नाकाको आयात हिस्सा तुलनात्मक रूपमा कम छ । नेपालगञ्जबाट २३ अर्ब ९१ करोड, मुस्ताङबाट २२ अर्ब ३ करोड र मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांक छ ।
यसैबीच, रसुवागढी नाकामा बाढीले क्षति पुर्याएपछि चोभारस्थित सुक्खा बन्दरगाहको व्यापारिक गतिविधिसमेत प्रभावित भएको छ । पहिलो तीन महिनामा चोभार भन्सार विन्दुबाट ४ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ ।
आयातसँगै निर्यातमा पनि वीरगञ्ज भन्सारको हिस्सा उल्लेख्य छ । विभागका अनुसार उक्त अवधिमा नेपालबाट १ खर्ब १४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा वीरगञ्ज नाकाबाट मात्रै ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
वीरगञ्जबाट पेट्रोलियम पदार्थलगायत ठूलो परिमाणमा वस्तु आयात हुने भएकाले यो नाका नेपालको वैदेशिक व्यापारको प्रमुख प्रवेशद्वारका रूपमा रहेको छ । पछिल्लो तथ्यांकले मुलुकको व्यापारिक कारोबार सीमित भन्सार नाकामा केन्द्रित रहेको र उत्तरी नाकामा आउने अवरोधले समग्र व्यापारिक आवागमनमा प्रभाव पार्ने देखाएको छ ।