चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 165 of 1151
  • 2026-11-20
  • 14:44:09
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

जनताको सुझावपछि सरकारको निर्णय सच्याउने संकेत, समता शुल्क स्थगित गर्दै प्रधानमन्त्रीले भने: नागरिकको हित नै पहिलो प्राथमिकता

काठमाडौँ– नागरिकस्तरबाट आएको असन्तुष्टि र सुझावलाई सम्बोधन गर्दै सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने भनिएको ३ प्रतिशत समता शुल्क तत्कालका लागि स्थगित गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सरकार नागरिकको हितविपरीत हुने कुनै पनि निर्णय सच्याउन र परिमार्जन गर्न सधैँ तयार रहने स्पष्ट पारेका छन्। मंगलबार सार्वजनिक गरेको धारणा मार्फत प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्। उनका अनुसार उक्त शुल्क लागू गर्दा आम नागरिकमाथि थप आर्थिक भार पर्ने र सेवाग्राहीमा निराशा बढ्ने अवस्था देखिएकाले तत्कालका लागि निर्णय स्थगित गरिएको हो। सरकारले यसअघि दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार, दलित, सीमान्तकृत र विपन्न समुदायलाई सहयोग तथा स्वास्थ्य बीमा प्रणालीलाई सुदृढ बनाउन आवश्यक स्रोत व्यवस्थापन गर्ने उद्देश्यले ३ प्रतिशत समता शुल्क प्रस्ताव गरेको थियो। तर नागरिकबाट आएको प्रतिक्रियालाई गम्भीर रूपमा ग्रहण गर्दै सरकार पछि हटेको प्रधानमन्त्रीले बताएका छन्। प्रधानमन्त्री शाहले वर्तमान सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भएको उल्लेख गर्दै कुनै पनि नीतिप्रति नागरिक असन्तुष्ट भए त्यसलाई सुधार्न सरकार खुला रहेको बताए। उनले सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिने र समतामूलक समाज निर्माणप्रतिको प्रतिबद्धता यथावत् रहने उल्लेख गरेका छन्। समता शुल्क तत्काल लागू नहुने भए पनि विपन्न नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने अन्य नीतिहरू भने प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रधानमन्त्रीले स्पष्ट पारे। उनका अनुसार निजी अस्पतालहरूले १० प्रतिशत शय्या (बेड) र निजी क्याम्पस तथा विश्वविद्यालयहरूले १० प्रतिशत सिट विपन्न तथा लक्षित वर्गका लागि पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने व्यवस्था कडाइका साथ लागू गरिनेछ। सरकारले सामाजिक न्यायका कार्यक्रमलाई निरन्तरता दिँदै नागरिकको सुझावका आधारमा आवश्यक नीतिगत सुधार गर्दै जाने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

News by जनताको सुझावपछि सरकारको निर्णय सच्याउने संकेत, समता शुल्क स्थगित गर्दै प्रधानमन्त्रीले भने: नागरिकको हित नै पहिलो प्राथमिकता :