स्थानीय तहका गुनासा अब मुख्य सचिवको प्रत्यक्ष निगरानीमा - Chaitanya News
  • 2026-07-22
  • 22:22:06
  • बुधबार,साउन ०६, २०८३
  • स्थानीय तहका गुनासा अब मुख्य सचिवको प्रत्यक्ष निगरानीमा

    स्थानीय तहका गुनासा अब मुख्य सचिवको प्रत्यक्ष निगरानीमा

    काठमाडौँ– स्थानीय तहमा सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, ठेक्कापट्टा तथा सुशासनसँग सम्बन्धित गुनासो अब नेपाल सरकारका मुख्य सचिवको प्रत्यक्ष समन्वयमा सम्बोधन गरिने भएको छ। सरकारको गुनासो व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय तहसँग सम्बन्धित उजुरीहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने व्यवस्था गरेको जनाएको छ।

    मंगलबार जारी सूचनाअनुसार स्थानीय तहमा हुने सेवा प्रवाहमा ढिलासुस्ती, ठेक्का व्यवस्थापनमा अनियमितता, निर्माण कार्यमा लापरबाही, भ्रष्टाचार तथा अन्य प्रशासनिक बेथितिसम्बन्धी गुनासो अब हेलो सरकारमार्फत दर्ता गरी मुख्य सचिवको संयोजनमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।

    कार्यालयका अनुसार नागरिकबाट प्राप्त गुनासो हेलो सरकारको पोर्टल तथा अन्य गुनासो सुनुवाइका माध्यमबाट संकलन गरी सम्बन्धित निकायसँग समन्वय गर्दै प्रभावकारी रूपमा समाधान गर्ने व्यवस्था मिलाइएको हो। यसबाट स्थानीय तहको सेवा प्रवाहलाई थप उत्तरदायी, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

    गुनासो दर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेलो सरकारको विद्युतीय प्रणाली, निःशुल्क हटलाइन नम्बर ११११, मोबाइल तथा ह्वाट्सएप नम्बर ९८५११४५०४५ र क्युआर कोडमार्फत सेवा उपलब्ध गराएको जनाएको छ।

    सरकारले स्थानीय तहमा देखिने समस्या, अनियमितता वा सेवासम्बन्धी गुनासा सम्बन्धित माध्यममार्फत निर्धक्क रूपमा दर्ता गर्न नागरिकलाई आग्रह गर्दै प्राप्त उजुरीहरूको निष्पक्ष र प्रभावकारी सुनुवाइ गरिने विश्वास व्यक्त गरेको छ।