धनगढीः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्न दिने निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएका डाक्टर गोविन्द केसीले सरकारलाई दुई दिनको थप समय दिएका छन्। थपिएको अवधिभित्र माग सम्बोधन नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने उनले चेतावनी दिएका छन्।
डाक्टर केसीले गत कात्तिक २ गते सरकारलाई आफ्ना माग पूरा गर्न सात दिनको अल्टिमेटम दिएका थिए। तर, दसैँ बिदाका कारण माग सम्बोधन गर्न सरकारलाई पर्याप्त समय नपुगेको भन्दै उनले अल्टिमेटमको अवधि थप दुई दिन बढाएका हुन्।
थपिएको समयमा पनि माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम अघि बढाउने उनले बताएका छन्। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको भनाइ छ।
डाक्टर केसीले न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्न माग गरेका छन्।
त्यस्तै, नेपाली आर्मी मेडिकल कलेजसहित विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णयसमेत बदर गर्नुपर्ने उनको माग छ।
निर्णय प्रक्रियामा संलग्न चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारीमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि डाक्टर केसीले अघि सारेका छन्। साथै, अयोग्य तथा स्वार्थको द्वन्द्व देखिएका पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने उनको माग छ।