पाकिस्तानी खेलाडीको विकल्पमा इंग्ल्यान्डका चार खेलाडी, चितवनको टोलीमा रातारात फेरबदल - Chaitanya News
  • 2026-10-27
  • 14:36:09
  • मंगलबार,कार्तिक ११, २०८३
  • पाकिस्तानी खेलाडीको विकल्पमा इंग्ल्यान्डका चार खेलाडी, चितवनको टोलीमा रातारात फेरबदल

    पाकिस्तानी खेलाडीको विकल्पमा इंग्ल्यान्डका चार खेलाडी, चितवनको टोलीमा रातारात फेरबदल

    काठमाडौं– पाकिस्तानी खेलाडीले खेल्न नपाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा इंग्ल्यान्डका चार खेलाडीलाई मैदानमा उतारेको छ। प्रतियोगितामा आफ्नो पहिलो खेल खेलिरहेको चितवनले विराटनगर किंग्सविरुद्ध सबै विदेशी खेलाडी इंग्ल्यान्डका रोजेको हो।

    त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवनले कप्तान रवि बोपारासहित इंग्ल्यान्डका चार खेलाडीलाई पहिलो रोजाइमा समेटेको छ। यसअघि टोलीमा तीन पाकिस्तानी खेलाडी अनुबन्ध भए पनि आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) नपाउँदा उनीहरूले प्रतियोगिता खेल्न पाएनन्।

    चितवनले उसामा मिर, हसन अली र मोहम्मद नवाजलाई टोलीमा अनुबन्ध गरेको थियो। तर, उनीहरू खेल्न नपाउने भएपछि चितवनले अन्तिम समयमा विदेशी खेलाडीको विकल्प खोज्दै इंग्ल्यान्डका खेलाडी भित्र्याएको हो।

    पाकिस्तानी खेलाडीको स्थानमा चितवनले अघिल्लो सिजन पनि टोलीबाट खेलेका डाविड मलानसहित डान मोस्ली र टम टेलरलाई अनुबन्ध गरेको छ। कप्तान बोपारा भने यसअघि नै नेपाल आइसकेका थिए। अन्य खेलाडी पाकिस्तानी खेलाडीको विकल्पमा रातारात नेपाल आइपुगेका हुन्।

    यसरी एनओसीको समस्याले चितवनको विदेशी खेलाडी छनोट अन्तिम समयमा फेरिएको छ। पाकिस्तानी खेलाडीबिनै मैदान उत्रिएको चितवनले पहिलो खेलमा इंग्ल्यान्डका खेलाडीको प्रदर्शनमा भरोसा गरेको छ।