काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै नेपाल टेलिकमले ग्राहकका लागि विशेष ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। क्रिकेट हेर्न र डिजिटल माध्यमबाट जोडिन चाहने ग्राहकलाई लक्षित गरी ल्याइएको प्याकेजमा ५९९ रुपैयाँमा ३० दिनसम्म दैनिक ८ जीबी डाटा र ३३३ मिनेट अल–नेट भ्वाइस कल सुविधा उपलब्ध हुनेछ।
टेलिकमका अनुसार प्रिपेड तथा पोस्टपेड दुवै मोबाइल प्रयोगकर्ताले यो प्याकेज खरिद गर्न सक्नेछन्। प्याकेजअन्तर्गत ग्राहकले दैनिक ८ जीबी डाटा प्रयोग गर्न पाउनेछन् भने जुनसुकै नेटवर्कमा ३३३ मिनेटसम्म भ्वाइस कल गर्न सक्नेछन्।
यो प्याकेज कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत प्याकेज लिन सक्नेछन्। पोस्टपेड प्रयोगकर्ताको हकमा भने प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश गरिने व्यवस्था गरिएको छ।
एनपीएलको तेस्रो संस्करणको ‘अफिसियल टेलिकम पार्टनर’ रहेको नेपाल टेलिकमले प्रतियोगिताको अवसरमा ग्राहकलाई लक्षित गर्दै यो प्याकेज ल्याएको हो।