खोप कार्यक्रमलाई २०३० सम्म साढे ८ अर्बको भर, ३ लाख डलरको दायित्व पनि मिनाहा - Chaitanya News
  • 2026-10-27
  • 13:34:15
  • मंगलबार,कार्तिक ११, २०८३
  • खोप कार्यक्रमलाई २०३० सम्म साढे ८ अर्बको भर, ३ लाख डलरको दायित्व पनि मिनाहा

    खोप कार्यक्रमलाई २०३० सम्म साढे ८ अर्बको भर, ३ लाख डलरको दायित्व पनि मिनाहा

    काठमाडौँ– राष्ट्रिय खोप कार्यक्रमलाई निरन्तरता दिन नेपालले अन्तर्राष्ट्रिय साझेदार गाभी, द भ्याक्सिन एलाइन्सबाट सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ। खोप कार्यक्रमका लागि आर्थिक स्रोत सुनिश्चित हुनुका साथै विगतको लेखापरीक्षणमा फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलरसमेत मिनाहा भएपछि नेपालको खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा राहत पुगेको छ।

    गाभीबाट प्राप्त हुने सहायता राष्ट्रिय नियमित खोप कार्यक्रम सञ्चालनका लागि उपयोग हुनेछ। यसले बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्न सञ्चालन गरिँदै आएका खोप सेवाको निरन्तरतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    यसैबीच, आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको नियमित खोप कार्यक्रमसम्बन्धी लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर मिनाहा भएको छ।

    मन्त्री मेहताको पहल तथा गाभीसँगको संवादबाट सहायता रकमसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै उक्त रकम मिनाहा गराउन सफलता मिलेको जनाइएको छ। यसबाट खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा थप सहजता आउने अपेक्षा गरिएको छ।

    विश्वव्यापी रूपमा विकास सहायता र वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु नेपालको स्वास्थ्य क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हो। नियमित खोप सेवाको पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय सहयोगसँगै स्रोतको प्रभावकारी परिचालन र वित्तीय जवाफदेहिता पनि उत्तिकै महत्त्वपूर्ण रहनेछ।