काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म दुवै कोषका विभिन्न खातामा कुल १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ मौज्दात रहेको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ रुपैयाँ मौज्दात छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर जम्मा भएको छ।
भोटेकोशी बाढीपछि विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि कोषमा आर्थिक सहयोग थपिने क्रम जारी रहेको छ।