कैलालीमा ७० प्रतिशत धान भित्र्याइयो - Chaitanya News
  • 2026-10-27
  • 12:06:33
  • मंगलबार,कार्तिक ११, २०८३
  • कैलालीमा ७० प्रतिशत धान भित्र्याइयो

    कैलालीमा ७० प्रतिशत धान भित्र्याइयो

    धनगढीः कैलालीमा ७० प्रतिशत धान भित्र्याइएको छ। कृषि ज्ञान केन्द्र धनगढीका अनुसार कात्तिक ९ गतेसम्म किसानहरूले ७० प्रतिशत धान बाली भित्र्याएका हुन्।

    कृषि ज्ञान केन्द्र धनगढीका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार कैलालीमा मसिनो प्रजातिको धान मात्रै भित्र्याउन बाँकी रहेको छ। मसिनो प्रजातिको धान ढिलो पाक्ने भएकाले भित्र्याउन बाँकी रहेको विष्टले जानकारी दिए।

    कृषि ज्ञान केन्द्र धनगढीका अनुसार कैलालीमा ६३ हजार चार सय हेक्टर जग्गामा धान खेती हुने गरेको छ। कैलालीमा धनको उत्पादकत्व प्रति हेक्टर ४ दशमलव ७ मेट्रिकटन रहेको कृषि ज्ञान केन्द्र धनगढीका सूचना अधिकारी विष्टले बताए।

    ‘कैलालीका किसानले अहिलेसम्म ६० देखि ७० प्रतिशत धान भित्र्याएका छन्। मसिनो धान ढिला पाक्ने भएकाले भित्र्याउन बाँकी छ। यो पटक कैलालीमा दुई लाख ९७ हजार ९८० मेट्रिकटन धान उत्पादन हुने अनुमान छ,’ सूचना अधिकारी विष्टले भने।

    कैलालीमा यो वर्ष धानको उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। तर, धान भित्र्याउने समयमा पानी परेकाले ४ देखि ५ प्रतिशत धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्र धनगढीले जनाएको छ।