एनपीएललाई नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधार मानेको छु’ : मन्त्री पोखरेल - Chaitanya News
  • 2026-10-27
  • 11:03:31
  • मंगलबार,कार्तिक ११, २०८३
  • एनपीएललाई नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधार मानेको छु’ : मन्त्री पोखरेल

    एनपीएललाई नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधार मानेको छु’ : मन्त्री पोखरेल

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै नेपालको खेल पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वास व्यक्त गरेका छन्।

    एनपीएलको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले प्रतियोगितालाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारका रूपमा लिएको बताएका हुन्। ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि थप मजबुत बनाउने उनको अपेक्षा छ।

    उद्घाटन समारोहमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको बढ्दो लोकप्रियता र सम्भावना उजागर गरेको उनले बताए। खेलप्रेमीको अपार समर्थनलाई नेपाली खेल क्षेत्रको विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ।

    प्रतियोगितामा सहभागी हुन नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अतिथिहरूले नेपाली क्रिकेटसँगै यहाँको संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अनुभवसमेत लिएर फर्किने मन्त्री पोखरेलले अपेक्षा गरेका छन्।

    उनले प्रतियोगितामा सहभागी सबै टोली तथा खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै एनपीएलले नेपाली खेलकुदको विकास र देशको पहिचान प्रवर्द्धनमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।