धादिङ– कात्तिक ११ देखि १५ गतेसम्म विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेपछि कृषि विकास कार्यालयले धान काट्ने र भित्र्याउने काममा सावधानी अपनाउन किसानलाई आग्रह गरेको छ।
कार्यालयले जारी गरेको सूचनामा मौसमको अवस्था हेरेर मात्र धान काट्न तथा भित्र्याउन सुझाव दिइएको छ। पाकिसकेको धान तत्काल भित्र्याउन सम्भव भए आजसम्म भित्र्याइसक्न वा कात्तिक १५ गतेपछि मात्र काट्ने व्यवस्था मिलाउन कार्यालयले अनुरोध गरेको हो।
वर्षाका कारण धानबालीमा क्षति पुग्न नदिन किसानले विशेष सतर्कता अपनाउनुपर्ने कार्यालयको भनाइ छ। तत्काल भित्र्याउन नसकिने धान मौसममा सुधार आएपछि मात्र काट्ने गरी समय मिलाउन पनि आग्रह गरिएको छ।
धान नपाकेका खेतमा कुलो वा नाली काटेर पानी निकासको व्यवस्था गर्न कार्यालयले सुझाएको छ। हावाहुरी वा वर्षाले धान ढलेको अवस्थामा बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउने वा अग्लो स्थानमा राख्ने प्रयास गर्न पनि किसानलाई अनुरोध गरिएको छ।