चितवन– सहकारीमा बचत गरेको रकम फिर्ता नपाएर पीडित बनेका बचतकर्तालाई न्याय दिलाउन सरकारले कानुनी र संस्थागत पहल अघि बढाउने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका मुद्दा छिटो टुंग्याउन अदालत र प्रहरीमा छुट्टै डेस्क तथा बेन्च स्थापनाका लागि पहल भइरहेको बताएकी छन्।
सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा सहकारी पीडितका गुनासा सुनेपछि मन्त्री रावलले बचतकर्ताको रकम फिर्ता गराउन सरकार जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारिन्। सहकारीका सञ्चालकले विदेशमा लगानी गरेको भए त्यस्तो रकम फिर्ता ल्याउन आवश्यक कानुन निर्माण र सम्बन्धित निकायसँग समन्वय गर्ने काम भइरहेको उनले जानकारी दिइन्।
पीडितका गुनासा सुन्ने क्रममा सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम फिर्ता नपाउँदाको पीडा छताछुल्ल भएको थियो। प्राध्यापन पेसाबाट निवृत्त ८४ वर्षीय विष्णुप्रसाद सापकोटाले घर बेचेर परिवारका लागि छुट्याएको रकमसमेत शिवशिखर सहकारीमा राख्दा गुमाउनुपरेको पीडा सुनाए।
उनका अनुसार परिवारले घर बिक्रीबाट प्राप्त रकममध्ये केही छोराछोरीलाई दिएर बाँकी रकम सहकारीमा बचत गरेको थियो। तर सहकारीले परिवारको तीन करोड ५० लाख रुपैयाँ भुक्तानी नगरेपछि बुढेसकालमा धर्मकर्म गरेर जीवन बिताउने सपना अधुरै रहेको उनले सुनाए। आफ्नो पीडा सुनाउँदा उनी भावुक बनेका थिए।
मकै पोलेर जीविका चलाउनेदेखि अरूको घरमा काम गरेर रकम जम्मा गर्नेहरूसमेत सहकारीबाट पीडित बनेको गुनासो गरेका थिए। एक महिलाले १४ कठ्ठा जग्गा बेचेर सनराइज सहकारीमा राखेको रकम फिर्ता नपाएको बताइन्। भरतपुर–१० का कृष्ण सुवेदीले निर्वाचनमा मत माग्नुअघि बचतकर्तालाई न्याय दिलाउनुपर्ने माग गरे।
पीडितका गुनासा सुनेपछि मन्त्री रावलले सहकारीसम्बन्धी मुद्दाको चाप बढी भएका स्थानमा विशेष डेस्क स्थापना गर्न प्रधानन्यायाधीशसँग छलफल भएको बताइन्। मुद्दाको सुनुवाइलाई तीव्रता दिन अदालतमा छुट्टै बेन्च र प्रहरीमा छुट्टै डेस्क राख्ने विषयमा गृहकार्य भइरहेको उनको भनाइ थियो।
मन्त्री रावलले सहकारीको समस्या लामो समयदेखि थाती रहेको उल्लेख गर्दै यसको वर्तमान अवस्थाका लागि विगतका सरकारका कमजोरी पनि जिम्मेवार रहेको बताइन्। तर विगतका कमजोरी देखाएर वर्तमान सरकार उम्किन नमिल्ने उनको भनाइ छ।
“तत्कालीन सरकारका कमीकमजोरीले सहकारीको अवस्था यहाँसम्म पुगेको हो। तर अहिलेको सरकार पनि समस्याबाट पन्छिन पाउँदैन र पन्छिँदैनौँ,” उनले भनिन्।