लमजुङ– मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले क्षति पुर्याएपछि अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य बढेको छ। यस वर्षको दसैँ अवधिमा उक्त पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटक पुगेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा दुई हजार ६२७ बढी हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म पाँच हजार ३८४ पर्यटकले पदयात्रा गरेका हुन्। गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए।
मनास्लु पदमार्गमा बाढीपहिरोका कारण आवागमन प्रभावित भएपछि त्यहाँ जाने केही पर्यटक अन्नपूर्णतर्फ मोडिएको गुरुङले बताए। अनुकूल मौसम र घुमफिर गर्ने संस्कृतिको बढ्दो आकर्षणले पनि पर्यटक आगमन वृद्धि भएको उनको भनाइ छ।
यस अवधिमा अन्नपूर्ण पदमार्गमा तीन हजार २८८ पुरुष, दुई हजार ९४ महिला र अन्य दुई जना पर्यटक आएका छन्। सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट चार हजार ७७५ पर्यटकले पदमार्गको यात्रा गरेका छन्।
देशगत तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतबाट ६०६ पर्यटक आएका छन्। त्यस्तै, जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र संयुक्त राज्य अमेरिकाबाट ३५२ पर्यटक आएका छन्।
लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ। हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती र स्थानीय संस्कृतिको अनुभव लिन पाइने भएकाले यो पदमार्ग विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ।
You sent