मलान चम्किँदा चितवनको प्रतिस्पर्धात्मक स्कोर, विराटनगरलाई १५८ रनको चुनौती - Chaitanya News
  • 2026-10-27
  • 15:30:23
  • मंगलबार,कार्तिक ११, २०८३
  • मलान चम्किँदा चितवनको प्रतिस्पर्धात्मक स्कोर, विराटनगरलाई १५८ रनको चुनौती

    मलान चम्किँदा चितवनको प्रतिस्पर्धात्मक स्कोर, विराटनगरलाई १५८ रनको चुनौती

    काठमाडौं– ओपनर डाविड मलानको आक्रामक अर्धशतक र रवि बोपारा तथा डान मोस्लीबीचको अविजित साझेदारीमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो । चितवनका लागि मलानले ५१ बलमा ७० रन बनाए । उनले ५ छक्का र ५ चौका प्रहार गर्दै जारी संस्करणकै पहिलो अर्धशतक पूरा गरे ।

    मलानले देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए । देव १५ बलमा १२ रन बनाएर आउट भए । त्यसपछि विकेटकिपर ब्याटर अर्जुन साउद पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी ९ बलमा ३ रन बनाएर एन्जेलो म्याथ्युजको बलमा कप्तान सन्दीप लामिछानेबाट क्याचआउट भए ।

    १३औँ ओभरमा मलान आन्द्रे रसेलको बलमा आउट भएपछि चितवनको इनिङ्सलाई रवि बोपारा र डान मोस्लीले सम्हाले । दुवैले संयमित ब्याटिङ गर्दै तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे ।

    बोपारा ३२ रन र मोस्ली २९ रनमा नटआउट रहेपछि चितवनले निर्धारित ओभरमा १५७ रन जोड्न सफल भयो । अब विराटनगरले जितका लागि १५८ रन बनाउनुपर्नेछ ।