बैतडीको दोगडाकेदारमा नेपाल टेलिकमको नेटवर्कमा समस्या - Chaitanya News
  • 2026-10-27
  • 15:54:38
  • मंगलबार,कार्तिक ११, २०८३
  • बैतडीको दोगडाकेदारमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

    बैतडीको दोगडाकेदारमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

    बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएपछि स्थानीय नागरिक मर्कामा परेका छन्। नेपाल टेलिकमका अनुसार टावरमा प्राविधिक समस्या नभए पनि क्षमताभन्दा बढी मोबाइल प्रयोगकर्ता सक्रिय हुँदा नेटवर्कमा समस्या देखिएको हो।

    दोगडाकेदार गाउँपालिका–३, लेकथला (सिल्लेगाडा) र वडा नम्बर २, कफलकोट धुरामा रहेका नेपाल टेलिकमका टावरबाट प्रभावकारी रूपमा सेवा सञ्चालन हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। नेटवर्कमा समस्या हुँदा फोन गर्न तथा इन्टरनेट चलाउन कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।

    विशेषगरी वडा नम्बर ३ मा टावर हुँदाहुँदै पनि सोही क्षेत्रमा नेटवर्कको समस्या देखिनु विडम्बनापूर्ण भएको स्थानीयको गुनासो छ। उनीहरूले यस अवस्थालाई ‘बत्तीमुनिको अँध्यारो’ को संज्ञा दिएका छन्।

    नेपाल टेलिकम बैतडीका प्रमुख दिलबहादुर बोगटीले भने दोगडाकेदारमा रहेका टावरमा कुनै प्राविधिक समस्या नरहेको बताएका छन्। उनका अनुसार टावरका आधार केन्द्र (बिटिएस) बन्द नभए पनि जडान गरिएको क्षमताभन्दा बढी मोबाइल प्रयोगकर्ता सक्रिय हुँदा नेटवर्कमा समस्या देखिएको हो।

    बोगटीले टावरको क्षमता व्यवस्थापन तथा विस्तारसम्बन्धी काम नेपाल टेलिकमको डडेल्धुरा कार्यालयले हेर्ने भएकाले थप जानकारीका लागि उक्त कार्यालयमा सम्पर्क गर्नुपर्ने बताए।

    नेपाल टेलिकम डडेल्धुरा कार्यालयले पनि दोगडाकेदार र सुर्नया गाउँपालिकामा रहेका टावरमा प्राविधिक समस्या नरहेको जनाएको छ। कार्यालय प्रमुख रामदत्त पन्तका अनुसार क्षमताभन्दा बढी उपभोक्ता सक्रिय हुँदा नेटवर्कमा समस्या देखिएको हो।

    पन्तले नेटवर्कको दीर्घकालीन समस्या समाधान गर्न टावरमा जडान गरिएको क्षमता वृद्धि (अपग्रेड) गर्ने विषयमा केन्द्रीय कार्यालयसँग समन्वय भइरहेको जानकारी दिए।

    आजको डिजिटल युगमा मोबाइल नेटवर्क फोन सम्पर्कमा मात्र सीमित छैन। शिक्षा, स्वास्थ्य, बैंकिङ कारोबार, सरकारी सेवा तथा अनलाइन माध्यमबाट गरिने विभिन्न कामका लागि समेत सञ्चार सेवा अत्यावश्यक बनेको छ। नेटवर्कमा समस्या हुँदा विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी तथा सर्वसाधारणको दैनिक कामकाज प्रभावित भइरहेको छ।

    भौगोलिक विकटताका कारण विभिन्न चुनौती सामना गर्दै आएका दोगडाकेदारवासीले टावर हुँदाहुँदै पनि सहज सञ्चार सेवा पाउन नसकेको गुनासो गरिरहेका छन्। स्थानीयले नेपाल टेलिकम तथा सम्बन्धित निकायलाई नेटवर्कको क्षमता वृद्धि गरी सेवा नियमित र भरपर्दो बनाउन माग गरेका छन्।

    टावरमा प्राविधिक समस्या नरहेको र क्षमताभन्दा बढी प्रयोगकर्ता सक्रिय हुँदा नेटवर्कमा समस्या आएको नेपाल टेलिकमको भनाइ छ। यस्तो अवस्थामा नेटवर्कको बढ्दो मागलाई सम्बोधन गर्न क्षमता विस्तारको काम कहिले सम्पन्न हुन्छ भन्ने विषयले स्थानीयको सञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कुरालाई निर्धारण गर्नेछ।