बझाङमा सुरु भयो ऐतिहासिक शिलदेवी मेला, ऐन महरले गरे उद्घाटन - Chaitanya News
  • 2026-10-27
  • 17:07:56
  • मंगलबार,कार्तिक ११, २०८३
  • बझाङमा सुरु भयो ऐतिहासिक शिलदेवी मेला, ऐन महरले गरे उद्घाटन

    बझाङमा सुरु भयो ऐतिहासिक शिलदेवी मेला, ऐन महरले गरे उद्घाटन

    बझाङः बझाङको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सुर्मादेवी (शिलदेवी) मेला सुरु भएको छ। सोमबारदेखि सुरु भएको मेलाको चैनपुरस्थित ठूला गडामा प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले उद्घाटन गरेका हुन्।

    मेलाको उद्घाटन गर्दै महरले शिलदेवी मेला सिंगो बझाङको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व भएकाले यसको मौलिकता, अस्तित्व र महत्व जोगाउन सबैले पहल गर्नुपर्ने बताए। उनले मेलाले जिल्लावासीबीच सामाजिक एकता, आपसी सद्भाव र भेटघाटको अवसर सिर्जना गर्ने उल्लेख गरे।

    ‘परापूर्वकालदेखि शिलदेवीको पूजा गर्ने, देश–विदेशबाट घर फर्किएकाहरू भेटघाट गर्ने र आपसी सद्भाव साटासाट गर्ने अवसरका रूपमा मेलालाई लिने गरिएको छ। मेलाको महत्व कतै ओझेलमा परेको त छैन भन्ने भान भएको छ। यसको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्छ,’ उनले भने।

    खेलकुदका गतिविधिले मेलामा थप उत्साह थपेको उल्लेख गर्दै महरले सकारात्मक काममा प्रतिस्पर्धा गर्न र नकारात्मक पक्ष हटाउन सबैले हातेमालो गर्नुपर्ने बताए।

    कार्यक्रममा संविधानसभा सदस्य अफिलाल ओखेडाले बझाङमा अपेक्षाअनुसार सबै काम हुन नसके पनि भएका प्रयास र उपलब्धिलाई बेवास्ता गर्न नहुने बताए। जिल्लामा विकास निर्माणका काम नभएको भाष्य निर्माण भइरहेको उल्लेख गर्दै उनले खेलमैदान र कभर्डहल निर्माणका लागि समेत प्रयास भइरहेको जानकारी दिए।

    मेलाको अवसरमा पालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै देउडा कार्यक्रम आयोजना गरिएको छ। आयोजकका अनुसार मेलाअन्तर्गत धार्मिक, सांस्कृतिक तथा खेलकुदसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिनेछन्।

    राजा गजराजको पालादेखि सुरु भएको मानिने शिलदेवी मेलालाई बझाङको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा लिने गरिन्छ। मेलाले स्थानीय कला तथा संस्कृतिको संरक्षण, खेलकुदको विकास, सामाजिक सद्भाव अभिवृद्धि र धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    सुर्मादेवी मेला व्यवस्थापन समितिका अध्यक्ष सर्जनबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण विष्ट, जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल, छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष वसन्त चलाउनेलगायतको उपस्थिति थियो।