काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो।
चितवनको जितमा बलर कमलसिंह ऐरी निर्णायक बने। उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एक–एक विकेट हात पारे।
खेलमा एक समय विराटनगर बलियो अवस्थामा पुगेको थियो। अन्तिम ३ ओभरमा जितका लागि २१ रन आवश्यक हुँदा विराटनगरले खेल आफ्नो पक्षमा पार्ने सम्भावना देखाएको थियो। तर, १८औँ ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएपछि खेलको अवस्था बदलियो।
उनले रुपेश सिंह र प्रतिश जिसीलाई लगातार बलमा शून्य रनमा आउट गरे। त्यसपछि १९औँ ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगरको जितको सम्भावना समाप्त भयो।
विराटनगरका लागि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा एक चौका र चार छक्काको मद्दतमा ३३ रन बनाए। उनले एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरेका थिए। म्याथ्युजले १४ रन बनाए। चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट भए।
ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए। उनले पहिलो विकेटका लागि लोकेश बमसँग ४० रनको साझेदारी गरे। लोकेशले १४ बलमा २६ रन जोडे। शुभम रञ्जाने १० रनमा आउट हुँदा सन्दीप लामिछानेले खाता खोल्न सकेनन्।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो।
चितवनका ओपनर डाविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलमा उक्त रन बनाउने क्रममा पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए।
विकेटकिपर ब्याटर अर्जुन साउदले ९ बलमा ३ रन मात्र बनाउन सके। उनलाई ११औँ ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याच गराएका थिए। विराटनगरका लागि चरिथ असलंकाले पनि विकेट लिएका थिए।
१३औँ ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलमा आउट भएपछि चितवनको ब्याटिङ सम्हाल्ने जिम्मेवारी कप्तान रवि बोपारा र डान मोस्लीले लिए। दुवैले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे। रवि ३२ र डान २९ रनमा अविजित रहे।
यस जितसँगै चितवन राइनोजले एनपीएलमा महत्वपूर्ण सफलता हात पारेको छ। प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।