कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ७ हजार भन्दा बढी कोटाका लागि माग - Chaitanya News
  • 2026-07-21
  • 18:47:43
  • मंगलबार,साउन ०५, २०८३
  • कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ७ हजार भन्दा बढी कोटाका लागि माग

    कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ७ हजार भन्दा बढी कोटाका लागि माग

    काठमाडौँ– कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको हो।

    शाखाले आज एक सूचना जारी गर्दै नेपाल र कोरियाबीच भएको समझदारी पत्र अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले ७ हजार २ सय कोटाका लागि आवेदन आह्वान गरेको हो।

    एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय जना र वन क्षेत्रका लागि १ सय जनाको माग गरेको हो।

    सोही आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो।

    आवेदन अनलाइनमार्फत आगामी ११ गतेदेखि १७ गतेसम्म (२७ जुलाई, २०२६ देखि २ अगष्ट) सम्म आवेदन दिन सकिनेछ।

    १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैर कानूनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई–९ वा ई १० भिसामा ५ वर्ष वा सो भन्दा बढी नबसेको हुनुपर्नेछ।

    पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुनेछ। परीक्षाका लागि २८ डलर शुल्क तिर्नुपर्नेछ। अन्तिम परीक्षामा पास भएका उम्मेदवारको वैधता नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म हुने जनाइएको छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको सुनिश्चिता नभएको प्रष्ट पारेको छ।