काठमाडौँः कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ।
सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौँलाई रोमाञ्चक रूपमा पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो।
लगातार दोस्रो खेलमा कम योगफल रक्षा गर्दै सुदूरपश्चिमले शानदार जित निकालेको हो।
लिग चरणका सबै सात खेल खेलिसकेको सुदूरपश्चिमले १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। टोलीले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनाएको छ। अब लुम्बिनी लायन्स वा काठमाडौँ गोर्खाजमध्ये एक टोली आफ्नो अन्तिम खेलमा पराजित भए सुदूरपश्चिम शीर्ष दुईमा रहने निश्चित हुनेछ।
उता, लगातार चार खेल जितेपछि पहिलो हार बेहोरेको काठमाडौँ ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ। काठमाडौँले लिग चरणको अन्तिम खेलमा आइतबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जितेमा काठमाडौँलाई शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने अवसर कायम रहनेछ।
काठमाडौँका लागि राशिद खानले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए। उनले ३१ बलमा पाँच चौका प्रहार गरे। दुसान हेमन्थाले २१ रनको योगदान दिए।
४८ रनमा पाँच विकेट गुमाएर संकटमा परेको काठमाडौँको इनिङ्स राशिद र हेमन्थाले सम्हाल्ने प्रयास गरेका थिए। उनीहरूले छैटौँ विकेटका लागि ३४ रनको साझेदारी गरे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
ओपनर साम हिजलेटले ११, आदिल आलमले ८, सन्तोष यादवले १० र कप्तान करण केसीले ८ रन बनाए। यस खेलमा ओपनिङ गरेका भीम सार्की र सहान अराचिगेले भने खाता खोल्न सकेनन्।
सुदूरपश्चिमका लागि अनिल खरेलले दुई विकेट लिए। स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले एक–एक विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए। उनले ५५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। जारी प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए। जारी एनपीएलमा दुई अर्धशतक बनाउने उनी दोस्रो खेलाडी हुन्। यसअघि काठमाडौंका राशिद खानले पनि दुई अर्धशतक बनाइसकेका छन्।
एक समय आठ रनमै चार विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमको इनिङ्स दीपेन्द्रले सम्हालेका थिए। दोस्रो ओभरमै क्रिजमा पुगेका उनले अन्तिम ओभरमा आउट हुनुअघि टोलीको स्कोर उकास्न महत्त्वपूर्ण योगदान दिए।
दीपेन्द्रले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्त्वपूर्ण साझेदारी गरे। आरिफले २५ बलमा एक चौकासहित १६ रन बनाए।
त्यस्तै, दीपेन्द्रले छैटौँ विकेटका लागि थरिन्दु रत्नायकेसँग पनि ५४ रनको साझेदारी गरे। रत्नायकेले २३ बलमा तीन चौकासहित अविजित २६ रन बनाए।
काठमाडौँका लागि जहानदाद खानले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा एक मेडनसहित २२ रन खर्चेर तीन विकेट लिए। सन्तोष यादवले तीन ओभरमा १६ रन दिएर दुई विकेट हात पारे।
सुरुआती ब्याटिङमा कमजोर देखिए पनि कप्तान दीपेन्द्रको धैर्यपूर्ण अर्धशतक र बलरहरूको अनुशासित प्रदर्शनका कारण सुदूरपश्चिमले लगातार दोस्रो खेलमा कम योगफल रक्षा गर्दै लिग चरणको सुखद अन्त्य गरेको छ।