सन्दीपको ह्याट्रिकसहित ६ विकेट, विराटनगरको रोमाञ्चक जित; पोखरा प्लेअफ दौडबाट बाहिरियो - Chaitanya News
  • 2026-11-12
  • 17:39:18
  • बिहिबार,कार्तिक २७, २०८३
  • सन्दीपको ह्याट्रिकसहित ६ विकेट, विराटनगरको रोमाञ्चक जित; पोखरा प्लेअफ दौडबाट बाहिरियो

    सन्दीपको ह्याट्रिकसहित ६ विकेट, विराटनगरको रोमाञ्चक जित; पोखरा प्लेअफ दौडबाट बाहिरियो

    काठमाडौँः कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पोखराले दिएको १३३ रनको लक्ष्य १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

    जितसँगै विराटनगरले ६ खेलबाट ६ अंक जोडेको छ। तीन जित निकालेको विराटनगर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। यससँगै टोलीको प्लेअफ पुग्ने सम्भावना कायम रहेको छ। विराटनगरले लिग चरणको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ।

    यता, पोखराको भने यो छैटौँ खेलमा पाँचौँ हार हो। २ अंकसहित अंकतालिकाको पुछारमा रहेको पोखरा प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।

    विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए। उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे। ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र २ छक्कासहित ३३ रन जोडे।

    आठौँ नम्बरमा ब्याटिङ गर्न आएका इसुरु उडानाले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ४ चौका र १ छक्कासहित अविजित २५ रन बनाए। उनले नै विजयी चौका प्रहार गरेका थिए। त्यस्तै, शेहान जयसूर्याले १४ बलमा २ चौकासहित अविजित १७ रनको योगदान दिए।

    विराटनगरका ओपनर इमरान शेख १० र एन्जेलो म्याथ्युज ८ रनमा आउट भए। चरिथ असलंका र प्रतिश जिसीले भने खाता खोल्न सकेनन्।

    बलिङतर्फ पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ तथा बिपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट लिए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रनमा समेटिएको थियो। पोखराका लागि ओपनर युवराज सिंह सम्राले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए पनि अन्य ब्याटरबाट उल्लेखनीय साथ पाउन सकेनन्।

    सम्राले ४७ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ८४ रन बनाएका हुन्। धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन जोड्नुबाहेक पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    ७६ रनमा ५ विकेट गुमाइसकेको अवस्थामा युवराज र धनन्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गर्दै पोखराको इनिङ्स उकास्ने प्रयास गरेका थिए। धनन्जयले १५ बलमा १ चौका र १ छक्कासहित २२ रन बनाए। सन्नी विकले ११ बलमा १ छक्काको मद्दतमा १२ रन जोडे।

    पोखराका अर्जुन कुमाल १, अर्जुन घर्ती ५ र बिपिन खत्री ५ रनमा आउट भए। कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले खाता खोल्न सकेनन्। सागर ढकाल १ रनमा अविजित रहे।

    पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछाने नायक बने। उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। सन्दीपले १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए।

    यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बनेका छन्। यसअघि काठमाडौँ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए।

    सन्दीपले यसअघि प्रतियोगिताका पाँच खेलमा जम्मा एक विकेट लिएका थिए। तर, पोखराविरुद्ध एकै खेलमा ६ विकेट लिँदै उनले उत्कृष्ट पुनरागमन गरेका छन्।

    उनी एनपीएलमा एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडीसमेत बनेका छन्। यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए।

    विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले पनि १–१ विकेट लिए।