काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्।
उनले पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुग्नुभएको र यमुनाले दाजुलाई विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गर्नुभएको प्रसङ्ग स्मरण गरेका छन्।
बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको उनले उल्लेख गरेका छन्।
सोही विश्वासका आधारमा भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने परम्परा रहेको प्रधानमन्त्री शाहले बताएका छन्।
यस दिन दाजुभाइलाई दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन रहेको उनले उल्लेख गरेका छन्। त्यस्तै, दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।