काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।
जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले पाँच खेलबाट तीन जित र दुई हारसहित ६ अंक जोडेको छ। अंकतालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा हुनेछ।
यता जनकपुर बोल्ट्सले पाँच खेलबाट दुई जित र तीन हारसहित चार अंक जोडेको छ। अंकतालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरलाई प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नुपर्ने दबाब छ।
सुदूरपश्चिमका लागि अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर रहेको छ भने जनकपुरका लागि प्रतियोगितामा टिकिरहन जित अपरिहार्य बनेको छ।
त्यसैले आजको खेल दुवै टोलीका लागि प्रतिस्पर्धात्मक र निर्णायक महत्त्वको हुने अपेक्षा गरिएको छ।