कैलालीमा मंसिर १ देखि धान खरिद, ३० हजार क्विन्टलको कोटा - Chaitanya News
  • 2026-11-10
  • 08:01:16
  • मंगलबार,कार्तिक २५, २०८३
  • कैलालीमा मंसिर १ देखि धान खरिद, ३० हजार क्विन्टलको कोटा

    कैलालीमा मंसिर १ देखि धान खरिद, ३० हजार क्विन्टलको कोटा

    धनगढीः सरकारले कैलालीमा आगामी मंसिर १ गतेदेखि किसानको धान खरिद गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका छ स्थानमा खरिद केन्द्र सञ्चालन गरी धान खरिद प्रक्रिया अघि बढाउन लागेको हो।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयका अनुसार धनगढीको मोहनपुर, गौरीगंगा, भजनी र टीकापुरलगायत स्थानमा धान खरिद डिपो स्थापना गरिनेछ।

    कार्यालय प्रमुख दीपक थापाले निर्धारित मितिदेखि नै किसानको धान खरिद सुरु गरिने जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा कैलालीबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएको छ।

    तर सरकारी खरिदको कोटा सीमित भएकाले जिल्लाका सबै किसानले आफ्नो उत्पादन खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बिक्री गर्न पाउने अवस्था छैन। सरकारी खरिदको मात्रा कम हुँदा बाँकी धान निजी व्यापारीलाई बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ।

    कार्यालय प्रमुख थापाले पनि धान खरिदको कोटा बढाउनुपर्ने आवश्यकता रहेको बताए। उनले यसका लागि सम्बन्धित निकायमा आग्रह गरिने जानकारी दिए।

    सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६०० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ। तर सरकारले समर्थन मूल्य तोके पनि व्यवहारमा किसानले सोही मूल्य पाउन नसकेको गुनासो गर्दै आएका छन्।

    मल, बीउ, सिँचाइ, मजदुरी तथा कृषि उपकरणको लागत निरन्तर बढिरहेको अवस्थामा समर्थन मूल्यभन्दा कममा धान बिक्री गर्नुपर्दा उत्पादनमा गरेको लगानीसमेत नउठ्ने जोखिम रहेको किसानको भनाइ छ।

    किसान तथा सरोकारवालाले सरकारी धान खरिदको कोटा र खरिद केन्द्रको संख्या बढाउन माग गरेका छन्। पर्याप्त खरिद केन्द्र नहुँदा टाढाबाट धान ढुवानी गर्नुपर्ने, लागत बढ्ने र समयमै उत्पादन बिक्री गर्न नसकिने समस्या रहेको उनीहरूको भनाइ छ।

    सरकारले किसानको उत्पादनलाई उचित मूल्य दिलाउने उद्देश्यले समर्थन मूल्य निर्धारण गरे पनि पर्याप्त परिमाणमा धान खरिद नहुँदा त्यसको प्रत्यक्ष लाभ सबै किसानले लिन नसक्ने अवस्था देखिएको छ।