तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गरिँदैछ सम्मान - Chaitanya News
  • 2026-11-09
  • 12:22:31
  • सोमबार,कार्तिक २४, २०८३
  • तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गरिँदैछ सम्मान

    तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गरिँदैछ सम्मान

    काठमाडौँः तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्दै धार्मिक विधिअनुसार पूजा गर्ने परम्परा रहिआएको छ।

    गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले पनि गाईको विशेष महत्त्व रहेको छ।

    धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास गरिन्छ। नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परासमेत रहेको छ। पछिल्लो समय गाईको अभावका कारण संकल्प गरेर त्यसबापत रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताए।

    गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्‍याउने मान्यता रहिआएको छ।

    यसरी गाईपूजा हिन्दू धर्मावलम्बीका लागि धार्मिक आस्था, परम्परा र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्वका रूपमा रहँदै आएको छ। (रासस)