काठमाडौँः नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइएको छ।
नेपाली साहित्यमा देवकोटाले पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन उनको जन्मजयन्ती मनाउने गरिन्छ। यस अवसरमा नेपालसहित भारतका विभिन्न भूभाग तथा नेपाली भाषीको बाहुल्यता रहेका क्षेत्रमा समेत विविध कार्यक्रम आयोजना गरिएका छन्।
जन्मजयन्तीका अवसरमा काठमाडौँको सञ्चारग्रामस्थित महाकवि देवकोटाको सालिकमा माल्यार्पण गरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ।
विसं १९६६ साल कात्तिक कृष्ण औँसीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीका साइँला छोराका रूपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सफल सुरुवात गरेका थिए। कविता, निबन्ध, नाटक र महाकाव्यलगायत साहित्यका विभिन्न विधामा कलम चलाएका उनले नेपाली साहित्यलाई नयाँ उचाइ प्रदान गरेका थिए।
उनका ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्य र ‘भिखारी’ कवितासङ्ग्रह नेपाली साहित्यका कालजयी तथा युगान्तकारी कृतिका रूपमा स्थापित छन्।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन महत्त्वपूर्ण योगदान पुर्याएका देवकोटालाई नेपाली साहित्यका स्वच्छन्दतावादी धाराका अग्रणी स्रष्टाका रूपमा लिइन्छ। उनको साहित्यिक योगदानको सम्मान र स्मरण गर्दै हरेक वर्ष जन्मजयन्ती मनाउने परम्परा रहँदै आएको छ।