दार्चुलाः दार्चुलाको अपि हिमाल बेसक्याम्पमा सम्पन्न उच्च हिमाली मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता ‘अपि ट्रफी’ को उपाधि धनगढी-११ ले जितेको छ। समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको पिलकन्द मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा धनगढी-११ ले आयोजक अपी-११ लाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो।
अपिहिमाल गाउँपालिकाद्वारा आयोजित प्रदेशस्तरीय ‘अपी हिमाल पर्यटन उत्सव, २०८३’ अन्तर्गत भएको १५ ओभरको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको धनगढी-११ ले निर्धारित १५ ओभरमा सात विकेट गुमाउँदै १४१ रन बनाएको थियो। जवाफमा १४२ रनको लक्ष्य पछ्याएको अपी-११ ले निर्धारित ओभरमा नौ विकेट गुमाएर १०८ रन मात्रै बनाउन सक्यो।
अपि-११ का लागि लिलाधर रोकायाले सर्वाधिक २८ रन बनाए। उनले २२ बलमा तीन चौका र एक छक्का प्रहार गरे। त्यस्तै, प्रदीप धामीले १५ बलमा १९ रनको योगदान दिए। मुकेश धामीले पनि राम्रो प्रदर्शन गरे। अपी-११ ले अतिरिक्तबाट ३२ रन प्राप्त गरेको थियो।
बलिङतर्फ धनगढी-११ का सुभोध तिवारीले उत्कृष्ट प्रदर्शन गरे। उनले तीन ओभरमा १० रन मात्रै खर्चेर चार विकेट लिए। प्रेम ओडले तीन ओभरमा १४ रन दिएर एक विकेट लिए भने सुबोध ऐर र निरज ऐरले समान एक–एक विकेट हात पारे। ब्याटिङतर्फ विकास थापाले २१ रन जोडे।
लक्ष्य पछ्याउने क्रममा अपी-११ ले सुरुवाती ओभरमै महत्त्वपूर्ण विकेट गुमाएको थियो। टोलीले १० रनमा पहिलो र २२ रनमा दोस्रो विकेट गुमाएपछि दबाबमा परेको थियो। लिलाधर रोकायाले आक्रामक ब्याटिङ गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।
उच्च हिमाली क्रिकेटको विश्व इतिहासमा अपिको उपस्थिति
विश्वका उच्च हिमाली क्षेत्रमा क्रिकेट खेल्ने अभ्यासमा अब दार्चुलाको अपि हिमाल बेसक्याम्प पनि जोडिएको छ। करिब चार हजार मिटर उचाइमा सम्पन्न प्रतियोगिताले सुदूरपश्चिमको हिमाली पर्यटनलाई खेलकुदसँग जोड्ने नयाँ सम्भावना उजागर गरेको छ।
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार विश्वमा सबैभन्दा उच्च स्थानमा क्रिकेट खेलेको प्रकाशित कीर्तिमान सन् २०१४ सेप्टेम्बर २६ मा तान्जानियाको किलिमन्जारो पर्वतमा कायम भएको थियो। त्यहाँ समुद्री सतहबाट पाँच हजार ७५२ मिटर उचाइमा क्रिकेट खेलिएको थियो।
त्यसअघि सन् २००९ अप्रिल २१ मा नेपालको सगरमाथा क्षेत्रस्थित गोरकशेपमा पाँच हजार १६४ मिटर उचाइमा ‘द एभरेस्ट टेस्ट’ क्रिकेट प्रतियोगिता आयोजना भएको थियो। सन् २००७ मा पनि बेलायतको प्रोफेसनल क्रिकेटर्स एसोसिएसनको टोलीले गोरकशेप क्षेत्रको हिमनदीमा पाँच हजार २८८ मिटर उचाइमा क्रिकेट खेलेको अभिलेख छ।
यी ऐतिहासिक अभिलेखका आधारमा अपीमा सम्पन्न प्रतियोगितालाई विश्वकै तेस्रो वा नेपालको दोस्रो उच्च स्थानमा खेलिएको क्रिकेटका रूपमा दाबी गरिएको छ। यद्यपि, यसलाई आधिकारिक विश्व कीर्तिमानका रूपमा पुष्टि गरिएको छैन।
उच्च हिमाली वातावरणमा क्रिकेट प्रतियोगिता आयोजना गरेर पर्यटन प्रवर्द्धन गर्ने प्रयासका रूपमा अपी ट्रफीले सुदूरपश्चिमको खेलकुद तथा पर्यटन क्षेत्रमा नयाँ अध्याय थपेको छ।
क्रिकेटमार्फत पर्यटन प्रवर्द्धन
अपि ट्रफी आयोजनामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिका अध्यक्ष एवं ‘क्रिकेटको सहर धनगढी’ अभियानका सूत्रधार सुवास बी. शाहीले सहकार्य गरेका छन्।
क्रिकेटको सहर धनगढीदेखि अपि हिमाल बेसक्याम्पसम्म खेलकुदको पहुँच विस्तार गर्दै सुदूरपश्चिमको क्रिकेट पहिचानलाई हिमाली पर्यटनसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
अपिहिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म आयोजना गरेको तीनदिने प्रदेशस्तरीय पर्यटन उत्सवमार्फत अपी क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ।
उच्च हिमाली क्षेत्रमा धनगढी-११ र अपी-११ बीच सम्पन्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताले खेलकुदलाई पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम बनाउन सकिने सम्भावनालाई उजागर गरेको छ।